टिपरको ठक्करबाट मृत्युपछि तनावग्रस्त बनेको अरनिको राजमार्ग सञ्चालनमा

काभ्रेपलाञ्चाेक,६ फागुन । टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध बनेको अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको छ।

काभ्रेको बनेपामा भएको दुर्घटनापछि सिर्जना भएको तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी राजमार्ग खुलाइएको हो।

बुधबार बिहान बनेपास्थित दूरसञ्चार कार्यालय नजिकै बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो।

प्रधानको मृत्युपछि आक्रोशित स्थानीय र आफन्तले राजमार्ग अवरुद्ध गर्नुका साथै ठक्कर दिने टिपरमा आगजनी गरेका थिए। भीड अनियन्त्रित हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो।

सडक खुलाउन र शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीका एसपी कोमल शाह र सशस्त्र प्रहरीका एसपी माधव रेग्मीको कमान्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थितिसँगै अहिले स्थिति सामान्य बन्दै गएको र सवारी आवागमन सुचारु भएको प्रहरीले जनाएको छ।