पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक बालाजुबाट पक्राउ

काठमाडौं, ६ फागुन । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा सुरक्षामा खटिएका प्रहरी कर्मचारीमाथि हातपात गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट स्थायी घर भएका २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार श्रेष्ठले शिवरात्रिको दिन पशुपति क्षेत्रमा ड्युटीमा रहेका प्रहरी जवानमाथि कुटपिट तथा हातपात गरेका थिए । उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दोषीको पहिचान र खोजीका लागि सर्वसाधारणसँग सहयोग मागेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले श्रेष्ठलाई बालाजु क्षेत्रबाट नियन्त्रणमा लिइएको जानकारी दिए । शिवरात्रिको दिन पशुपति क्षेत्रमा युवतीहरूलाई जिस्काएको भन्दै सम्झाउन खोज्दा श्रेष्ठले उल्टै प्रहरीमाथि लात्ती प्रहार गरी हातपात गरेका थिए ।

पक्राउ परेका श्रेष्ठमाथि प्रहरीले थप कानुनी प्रक्रिया अगाडि बढाएको छ ।