१३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा: बागलुङसहित पहाडी जिल्ला केन्द्रीय प्रसारण प्रणालीमा जोडिँदै
ढोरपाटन (बागलुङ), ६ फागुन । बागलुङको पश्चिम भेगलाई केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा जोड्ने लक्ष्यका साथ निर्माण गरिएको १३२ केभी क्षमताको बुर्तिबाङ सवस्टेसन औपचारिक रूपमा सञ्चालनमा आएको छ । यही फागुन २ गते निर्माण सम्पन्न भई ३ र ४ गते गरिएको सफल परीक्षणपश्चात् मङ्गलबारदेखि उक्त सवस्टेसनबाट नियमित विद्युत् प्रसारण सुरु गरिएको हो ।
विभिन्न स्थानीय अवरोध र कानुनी जटिलताका कारण लक्ष्यभन्दा झण्डै एक वर्ष ढिलो गरी यो आयोजना सम्पन्न भएको हो । बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा स्थानीय बासिन्दाले टावर निर्माण र प्रसारण लाइन विस्तारमा अवरोध गरेपछि आयोजनाको काम प्रभावित भएको थियो । कपिलवस्तुको मोतिपुरदेखि अर्घाखाँचीको सन्धिखर्कसम्मको खण्डमा विसं २०७८ चैत १२ गतेदेखि निर्माण सुरु भएको यस आयोजनालाई अघिल्लो वर्ष असार ७ गतेभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो ।
आयोजना प्रमुख मनोज चौधरीका अनुसार बडिगाड क्षेत्रका स्थानीयले मुआब्जा र टावर निर्माणको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेपछि करिब डेढ वर्ष निर्माण कार्य पूर्ण रूपमा ठप्प भएको थियो । “ठाउँ-ठाउँमा उत्पन्न अवरोधका कारण हामीले तोकिएको समयमा काम सक्न सकेनौँ,” प्रमुख चौधरीले भन्नुभयो, “गत वर्ष असार ९ गते सर्वोच्च अदालतले उक्त रिट खारेज गरिदिएपछि निर्माण कार्यले पुनः तीव्रता पाएको हो ।”
पहाडी जिल्लाहरूको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन कपिलवस्तुको मोतिपुरबाट सुरु भएको यो आयोजना अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौँदीअमराई हुँदै बागलुङको बुर्तिबाङसम्म विस्तार गरिएको छ । ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सवस्टेसन निर्माण गरी विद्युत् वितरणको व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ ।
कपिलवस्तुदेखि बुर्तिबाङसम्मको ८६ किलोमिटर लामो यस प्रसारण लाइनमा ‘डबल सर्किट’ तार विस्तार गरिएको छ । कुल ४ अर्ब ७९ करोड रुपैयाँको लागतमा सम्पन्न यस आयोजनाले बागलुङ, गुल्मी र अर्घाखाँचीका दुर्गम क्षेत्रमा विद्युतीकरणको पहुँच पुर्याउनुका साथै भोल्टेजको समस्या समाधान गर्ने विश्वास लिइएको छ । आयोजना प्रमुख चौधरीले लामो प्रतीक्षा र चुनौतीका बाबजुद नियमित प्रसारण सुरु हुनु यस क्षेत्रको विकासका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।