दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ, अन्यको खोजी जारी: संयमित हुन प्रहरीको अपिल

दाङ, ८ फागुन । दाङको तुलसीपुरमा नेकपा (एमाले) को चुनाव चिह्न अङ्कित झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तुलसीपुर उप–महानगरपालिका–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धि बहादुर बस्नेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत बिहीबार राति करिब ९:३० बजे तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा एमालेको झण्डा जलाइएको थियो । उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट घोराही जाने क्रममा तुलसीपुरमा उहाँको स्वागतका लागि कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यक्रमका बीच केही अराजक व्यक्तिहरूले एमालेको झण्डामा आगो लगाएका थिए । निर्वाचनको मुखमा एउटा दलको कार्यक्रममा अर्को दलको झण्डा जलाइएपछि स्थानीय स्तरमा राजनीतिक तनाव बढेको थियो ।

प्रहरीले बस्नेतलाई पक्राउ गरे पनि घटनामा संलग्न अन्य केही व्यक्तिहरू अझै फरार रहेको र उनीहरूको खोजी कार्य तीव्रताका साथ भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले एक विज्ञप्ति जारी गर्दै समाजमा शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुर्‍याउने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको छ ।

“निर्वाचनको समयमा सबै पक्ष संयमित र जिम्मेवार बन्न जरुरी छ, कानुन हातमा लिने जोकोहीलाई कडा कारबाही गरिनेछ,” प्रहरीले भनेको छ । पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको र उनीविरुद्ध प्रचलित कानुन बमोजिम मुद्दा अगाडि बढाइने जानकारी दिइएको छ ।