बाँके–२ मा एमालेका मोहम्मद इश्तियाक राई विजयी

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँके क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मोहम्मद इश्तियाक राई निर्वाचित हुनुभएको छ । यस जितसँगै नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पहिलो जित दर्ता गर्दै चुनावी खाता खोलेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले २४ हजार ६२६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत प्राप्त गर्नुभएको छ । राईले श्रेष्ठलाई ६ हजार ४५ मतान्तरले पराजित गर्नुभएको हो ।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार सुधान्स कोइराला १७ हजार ५९० मतका साथ तेस्रो स्थानमा रहनुभएको छ ।

एमालेका प्रभावशाली नेता राईले कडा प्रतिस्पर्धाका बीच जित निकाल्दै संसद्को यात्रा तय गर्नुभएको हो । यसअघि अन्य क्षेत्रमा मतगणना जारी रहे पनि एमालेका लागि यो पहिलो आधिकारिक जित हो ।