‘इरान आफ्नो भू-भाग र जनताको सुरक्षा गर्न पूर्ण प्रतिबद्ध छ’ – राष्ट्रपति पेजेश्कियन
काठमाडौँ, फागुन २४ । इरानी राष्ट्रपति मसउद पेजेश्कियनले आफ्नो देशको भौगोलिक अखण्डता रक्षा गर्न इरानी जनता पूर्ण रूपमा सक्षम रहेको बताउनुभएको छ। आइतबार तेहरानमा स्वास्थ्यमन्त्री मोहम्मद-रेजा जाफरघन्दीसँगको भेटघाटका क्रममा उहाँले शत्रु पक्षलाई देशको ‘एक इन्च’ भू-भाग पनि कब्जा गर्न नदिने उद्घोष गर्नुभयो ।
राष्ट्रपति पेजेश्कियनले आफ्ना अघिल्ला भनाइहरूलाई केही पक्षले गलत ढङ्गले व्याख्या गरी इरान र छिमेकी राष्ट्रहरूबीच भ्रम सिर्जना गर्न खोजेको प्रति ध्यानाकर्षण गराउनुभयो। उहाँले भन्नुभयो, “इरान आफ्ना छिमेकीहरूसँग सधैं शान्तिपूर्ण, सौहार्दपूर्ण र भ्रातृत्वपूर्ण सम्बन्ध कायम राख्न चाहन्छ। यसमा कसैले शङ्का गर्नुपर्ने ठाउँ छैन।”
छिमेकी मुलुकहरूको सार्वभौमसत्ताप्रति सम्मान व्यक्त गर्दै उहाँले कुनै पनि देशको भूमि प्रयोग गरी इरानमाथि हमला भएमा आफ्नो सुरक्षाका लागि कडा जवाफ दिन इरान बाध्य हुने चेतावनी दिनुभयो। क्षेत्रीय तनावका कारण प्रभावित भएका निर्दोष जनताप्रति सहानुभूति प्रकट गर्दै उहाँले इरानी जनता राष्ट्रिय सुरक्षाको मामिलामा एकजुट रहेको उल्लेख गर्नुभयो।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा गरेको संयुक्त आक्रमणपछि यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ। उक्त आक्रमणमा वरिष्ठ सैन्य कमाण्डर र सर्वसाधारणको मृत्यु भएपश्चात् इरानले मध्यपूर्वमा रहेका अमेरिकी र इजरायली सैन्य आधार शिविरहरूलाई लक्षित गरी मिसाइल तथा ड्रोन हमलाहरू गर्दै आएको छ।
बढ्दो सैन्य तनावले विश्व ऊर्जा बजार र तेल उत्पादनमा समेत गम्भीर असर पार्न सक्ने सङ्केत देखिएका छन्। इरानी संसद्का सभापति मोहम्मद बघेर गालिबाफले जारी युद्धका कारण पश्चिम एसियामा तेलको उत्पादन र निर्यात अवरुद्ध हुन सक्ने चेतावनी दिनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा तेलको मूल्यका सम्बन्धमा व्यक्त गरिएका टिप्पणीहरूको आलोचना गर्दै सभापति गालिबाफले द्वन्द्व लम्बिँदै गएमा यसले क्षेत्रीय मात्र नभई विश्व अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले तेलको मूल्य वृद्धि र आपूर्तिमा आउने अवरोधले पश्चिमा मुलुकहरूलाई समेत गम्भीर क्षति पुर्याउने उल्लेख गर्नुभयो ।