प्रतिनिधिसभा निर्वाचन अपडेट: १६१ क्षेत्रको नतिजा सार्वजनिक, १२४ सिटमा रास्वपा विजयी
काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म १६१ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।
आयोगले आज बिहान ६:०० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै १२४ सिटमा जित दर्ता गरेको छ । अब गणना बाँकी रहेका क्षेत्रमध्ये रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेको छ ।
कुन दलको कति सिट?
आयोगका अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता कायम राखेको छ । नेकपा (एमाले) ले ८ स्थानमा विजय प्राप्त गरेको छ भने एक क्षेत्रमा अग्रता लिइरहेको छ ।
अन्य दलहरूको अवस्था यस प्रकार छ:
नेपाली कम्युनिष्ट पार्टी (नेकपा): ७ सिट
श्रम संस्कृति पार्टी: ३ सिट
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): १ सिट
स्वतन्त्र उम्मेदवार: १ सिट
कूल १६५ निर्वाचन क्षेत्रमध्ये अब ४ क्षेत्रको अन्तिम परिणाम आउन बाँकी छ । मतगणना जारी रहेका क्षेत्रमा पनि तीव्र प्रतिस्पर्धा देखिएको छ । प्रत्यक्षतर्फको नतिजासँगै निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनालाई पनि तीव्रता दिएको जनाएको छ ।