कास्कीमा रास्वपालाई प्रत्यक्षभन्दा समानुपातिकतर्फ बढी मत

काठमाडौँ, फागनु २५ । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार कास्की जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मतभन्दा समानुपातिकतर्फ दलले प्राप्त गरेको मत बढी देखिएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवारहरूले कूल १ लाख ९ हजार ५४४ मत प्राप्त गरेका छन् । तर, समानुपातिक निर्वाचन प्रणालीतर्फ भने सो दलले १ लाख १३ हजार ६२८ मत पाएको छ । यो सङ्ख्या प्रत्यक्षतर्फका उम्मेदवारको तुलनामा ४ हजार ८४ ले बढी हो ।

रास्वपा र अन्य केही दलको विपरीत ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) मा भने दलले भन्दा प्रत्यक्षतर्फका उम्मेदवारले बढी मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवारहरूले ३० हजार ४९४ मत प्राप्त गर्दा समानुपातिकतर्फ दललाई २८ हजार ६५६ मत प्राप्त भएको छ । त्यस्तै, नेकपा (एमाले) का प्रत्यक्षतर्फका उम्मेदवारले २५ हजार ८२८ मत पाउँदा समानुपातिकतर्फ दलले २४ हजार १९९ मत मात्र प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल कम्युनिष्ट पार्टीको हकमा पनि उम्मेदवारको तुलनामा दललाई बढी मत प्राप्त भएको छ । राप्रपाका प्रत्यक्षतर्फका उम्मेदवारले ४ हजार २७ मत पाउँदा समानुपातिकतर्फ दलले ६ हजार ४६६ मत प्राप्त गरेको छ । यस्तै, नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारले प्रत्यक्षतर्फ ५ हजार २११ मत पाएकोमा समानुपातिकतर्फ दललाई ५ हजार ७६३ मत प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस तथ्याङ्कले कास्कीमा मतदाताहरूले उम्मेदवार चयन गर्दा र दल रोज्दा फरक–फरक प्राथमिकता दिएको स्पष्ट पारेको छ ।