ग्यासकाे सङ्कट टार्न आधा सिलिन्डर मात्र वितरण गर्ने निर्णय, आजदेखि बजारमा आउने
काठमाडौँ, २९ फागुन । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि नेपाल आयल निगमले आज (शुक्रबार) देखि आधा सिलिन्डर मात्र ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
निगमको पछिल्लो निर्णयअनुसार अब उपभोक्ताले प्रति सिलिन्डर ७.१ किलो मात्र ग्यास प्राप्त गर्नेछन् । आपूर्ति सहज नभएसम्मका लागि यो व्यवस्था लागू गरिएको हो । आधा सिलिन्डर ग्यासको मूल्य प्रति सिलिन्डर ९५५ रुपैयाँ तोकिएको छ ।
मध्यपूर्वमा जारी तनाव र युद्धका कारण पेट्रोलियम पदार्थको विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा परेको यो प्रभावका कारण नेपालमा पनि ग्यासको आयात र मौज्दातमा दबाब परेको निगमले जनाएको छ ।
“बजारमा ग्यासको माग उच्च रहेको र आपूर्तिमा केही प्राविधिक कठिनाइ देखिएकाले धेरैभन्दा धेरै उपभोक्तालाई ग्यास उपलब्ध गराउन यो कदम चालिएको हो,” निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अर्को निर्णय नभएसम्मका लागि देशभरका सबै ग्यास उद्योगहरूले ७.१ किलोका सिलिन्डर मात्र बजारमा पठाउनुपर्ने निर्देशन दिइएको छ ।
निगमले ग्यासको आयात नियमित भइरहेको दाबी गरे पनि उपभोक्ताले अभावको डरले सिलिन्डर सञ्चय गर्न थालेपछि बजारमा चाप बढेको थियो । आधा सिलिन्डरको व्यवस्थाले बजारमा ग्यासको उपलब्धता सहज हुने र सर्वसाधारणको तत्कालको आवश्यकता पूरा हुने विश्वास निगमले लिएको छ ।