होर्मुज मार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको आह्वान
एजेन्सी, १ चैत्र । मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा आपूर्तिमा गम्भीर सङ्कट निम्त्याएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यको सुरक्षाका लागि युद्धपोत पठाउन विश्व समुदायलाई आह्वान गर्नुभएको छ। इरानसँगको तनावका कारण विश्वको प्रमुख तेल आपूर्ति मार्ग अवरुद्ध प्रायः बनेपछि ट्रम्पले यस्तो आग्रह गर्नुभएको हो।
शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले इरानको सम्भावित अवरोधबाट प्रभावित राष्ट्रहरूलाई संयुक्त समुद्री सुरक्षा बल निर्माण गर्न अपिल गर्नुभएको छ। उहाँले विशेषगरी चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई यस क्षेत्रमा युद्धपोत पठाएर जलमार्ग सुरक्षित राख्न आग्रह गर्नुभयो।
सामान्य अवस्थामा होर्मुज मार्गबाट विश्वको करिब २० प्रतिशत (पाँचौँ भाग) तेल आपूर्ति हुने गर्छ। तर, इरानी आक्रमणको जोखिम र ढुवानीमा पुगेको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य झन्डै ४० प्रतिशतले आकासिएको छ, जसले विश्व अर्थतन्त्रमै गम्भीर दबाब सिर्जना गरेको छ।
गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलको गठबन्धनले इरानविरुद्ध सैन्य अभियान सुरु गरेयता यस क्षेत्रमा तीव्र बमबारी जारी छ। अमेरिकी सेनाले शुक्रबार मात्रै इरानको प्रमुख तेल निर्यात केन्द्र मानिने खर्ग टापुमा आक्रमण गरेको थियो। ट्रम्पका अनुसार ऊर्जा संरचनालाई जोगाउँदै इरानी सैन्य अखडाहरू मात्र ध्वस्त पारिएको छ। यद्यपि, इरानले आफ्ना तेल संरचनामा थप आक्रमण भए अमेरिकी ऊर्जा कम्पनीहरूमाथि कडा प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ।
पेन्टागनका अनुसार हालसम्म इरानभित्र १५ हजारभन्दा बढी सैन्य लक्ष्यमा प्रहार भइसकेको छ। यसैबीच, २ हजार ५०० समुद्री सैनिकसहित अमेरिकी युद्धपोत ‘युएसएस त्रिपोली’ सो क्षेत्रतर्फ पठाइएको छ। युद्धका क्रममा हालसम्म अमेरिकाले आफ्ना १३ जना सैनिक गुमाएको जनाएको छ, जसमा इराकमा इन्धन भर्ने विमान दुर्घटनामा परेका ६ सैनिक पनि सामेल छन्।
इरानको स्वास्थ्य मन्त्रालयको अपुष्ट तथ्याङ्कअनुसार अमेरिका र इजरायलको आक्रमणबाट हालसम्म १ हजार २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (UNHCR) का अनुसार करिब ३२ लाख इरानी नागरिक विस्थापित भई सुरक्षित स्थानतर्फ सरेका छन्।
युद्धको पहिलो दिनमै इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि उहाँका छोरा मोजतबा खामेनीलाई नयाँ सर्वोच्च नेता घोषणा गरिएको थियो। तर, उहाँ हालसम्म सार्वजनिक रूपमा देखा पर्नुभएको छैन र उहाँसमेत घाइते भएको आशङ्का गरिएको छ। यद्यपि इरानी अधिकारीहरूले नेतृत्वमा कुनै समस्या नरहेको दाबी गरेका छन्।
यता इरानले भने इजरायल र खाडी राष्ट्रहरूतर्फ मिसाइल तथा ड्रोन आक्रमण तीव्र पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र साउदी अरेबियाले आफ्ना वायु प्रतिरक्षा प्रणालीले इरानी क्षेप्यास्त्र र ड्रोनहरू आकाशमै नष्ट गरेको दाबी गरेका छन्। यूएईको प्रमुख तेल भण्डारण केन्द्र फुजैराह बन्दरगाह क्षेत्रबाट कालो धुवाँ उडेको देखिएको छ भने इराकस्थित अमेरिकी दूतावास र कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल आसपास पनि आक्रमणका घटना भएका छन्।
द्वन्द्वको आगो लेबनानसम्म पनि फैलिएको छ। इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले इजरायलमाथि आक्रमण सुरु गरेपछि इजरायली सेनाले गरेको जवाफी कारबाहीमा लेबनानमा ८२६ जनाभन्दा बढीको मृत्यु भइसकेको छ। इजरायलले दक्षिण लेबनानका सयौँ वर्गकिलोमिटर क्षेत्र खाली गर्न आदेश दिएपछि लाखौँ नागरिक विस्थापित भएका छन्। शनिबार राति दक्षिणी लेबनानको खियाम क्षेत्रमा इजरायली सेना र हिजबुल्लाहबीच प्रत्यक्ष झडप भएको बताइएको छ।
मध्यपूर्वको युद्धको असर अन्तर्राष्ट्रिय खेलकुदमा समेत परेको छ। अप्रिलमा बहराइन र साउदी अरेबियामा तय भएका प्रमुख अन्तर्राष्ट्रिय कार दौड प्रतियोगिता रद्द गरिएका छन्।
अर्कोतर्फ, अस्ट्रेलिया भ्रमणमा रहेको इरानी महिला फुटबल टोलीका केही सदस्यले त्यहीँ शरण मागेका छन्। खेलका दौरान राष्ट्रगान गाउन अस्वीकार गरेका उनीहरूले स्वदेश फर्कंदा ‘देशद्रोही’को आरोपमा कारबाही हुने डरले अस्ट्रेलियामै शरण मागेको बताइएको छ।