धुलिखेल–खावा सडक स्तरोन्नति तीव्रः चैत ७ देखि दुई साता रातिको समयमा सवारी आवागमन बन्द
काभ्रेपलाञ्चोक, १ चैत्र । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्रको कामलाई तीव्रता दिइएको छ। सडक पक्की गर्ने कार्यलाई छिटो सम्पन्न गर्न आगामी चैत ७ गतेदेखि दुई हप्तासम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशका अनुसार चैत ७ देखि २० गतेसम्म रातिको समयमा यातायात बन्द गरेर काम गरिनेछ। यस अवधिमा सडकमा टिपरलगायत मालवाहक सवारीसाधानलाई भने पूर्ण रूपमा रोक लगाइएको छ। कुल ४ किलोमिटर लामो यस सडकखण्डमध्ये चैत महिनाभित्र साढे दुई किलोमिटर र आगामी वैशाखभित्र बाँकी भाग पक्की गरिसक्ने लक्ष्य राखिएको छ।
भारी मालवाहक सवारीसाधन गुड्ने भएकाले यो सडकलाई विशेष प्रविधिबाट बलियो बनाउन लागिएको छ। नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको ‘बेस’ हालेर दुई चरणको कालोपत्र (डिबिएम र आस्फाल्ट) गर्ने योजना रहेको कार्यालयले जनाएको छ।
सात मिटर चौडा हुने उक्त सडकको पहिरो व्यवस्थापनमा पनि नयाँ प्रविधि अपनाइनेछ। हाल सडकमा सिसीटिभी जडानको तयारी भइरहेको र चिसो कम हुँदै गएकाले सतह (सर्फेस) को काम सुरु गर्न लागिएको इन्जिनियर योगेशले जानकारी दिनुभयो।
विगत ३ वर्षदेखि निर्माण व्यवसायीको लापरबाहीका कारण सडक अलपत्र पर्दा यात्रुहरू धुलो, हिलो र ट्राफिक जामको सास्ती भोग्न बाध्य थिए। अघिल्लो निर्माण कम्पनी ‘गौरी–पार्वती निर्माण सेवा’ले तोकिएको समयमा काम नसकेपछि कार्यालयले सम्झौता रद्द गरेको थियो।
त्यसपछि गत साउनमा पुनः बोलपत्र आह्वान गरी कात्तिकमा ‘सिएन एवान काली जेभी’ सँग भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा नयाँ ठेक्का सम्झौता गरिएको हो। नयाँ कम्पनीले १४ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ। हाल विभिन्न स्थानमा कटिङ, साना संरचना र टेवा पर्खाल निर्माणको काम धमाधम भइरहेको छ।
यो सडकखण्ड अरनिको राजमार्ग हुँदै चीनसँगको उत्तरी नाका तातोपानी (सिन्धुपाल्चोक) तथा छिमेकी जिल्लाहरू दोलखा, रामेछापलगायतलाई जोड्ने मुख्य व्यापारिक मार्ग हो। नयाँ कम्पनीले तीव्रताका साथ काम अघि बढाएपछि अब भने समयमै सडक बन्नेमा स्थानीय र यात्रु आशावादी देखिएका छन्।