बाजुराका उच्च भेगमा हिमपात र वर्षा : हिउँदे बाली सप्रने आशमा किसान हर्षित

काठमाडौँ, चैत २ । बाजुराका उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । गत माघको दोस्रो सातापछि जिल्लाका उच्च भू-भागमा पुनः मौसमी परिवर्तन देखिएको हो । लामो समयको अन्तरालपछि वर्षा र हिमपात भएपछि यहाँका किसानहरू उत्साहित भएका छन् । जिल्लाका बडीमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा नगरपालिका सहित हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

हिमपातका कारण हिमाली गाउँपालिकाका विच्छ्या, रुगिन र बाँधु, गौमुलको अम्लिस र दहकोट तथा बूढीनन्दा नगरपालिकाको कुरु र पाण्डुसैन लगायतका बस्तीहरूमा अत्यधिक चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भए पनि कृषि क्षेत्रका लागि भने यसले राहत पुर्‍याएको छ । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसीराम सहानीले यस समयमा भएको वर्षा र हिमपात हिउँदे बालीका लागि निकै लाभदायक हुने बताउनुभयो । उहाँका अनुसार चिस्यान बढ्दा गहुँ, जौ र उवा जस्ता बालीको उत्पादनमा सुधार आउने अपेक्षा गरिएको छ ।

यसैबीच, डिभिजन वन कार्यालय बाजुराले हिमपातको समयमा वन्यजन्तुको चोरीसिकारी हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीका अनुसार जङ्गली जनावरको चोरीसिकारीमा संलग्न भएको पाइएमा वन ऐन बमोजिम कडा कानुनी कारबाही गरिनेछ ।