आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, चैत २  । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मुलुकका विभिन्न भागमा मौसमी बदलाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था छ । महाशाखाले आज दिउँसोको मौसमबारे जानकारी दिँदै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहने जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। तराईका एक-दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ ।

आज रातिको मौसम पूर्वानुमानअनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका थोरै स्थानमा तथा अन्य प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। साथै, पहाडी भू-भागका केही स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ ।

वर्षा, हिमपात र चट्याङको सम्भावना रहेका क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।