चितवनमा अवैधानिक शैक्षिक परामर्श केन्द्र बन्द गर्न प्रशासनको १५ दिने अल्टिमेटम

काठमाडौँ, चैत २ । जिल्ला प्रशासन कार्यालय चितवनले सम्बन्धित निकायबाट अनुमति नलिई सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र तथा वैदेशिक रोजगार सेवा प्रदायक संस्थाहरूलाई १५ दिनभित्र बन्द गर्न कडा निर्देशन दिएको छ । प्रशासनले एक सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुन बमोजिम अधिकार प्राप्त निकायबाट इजाजतपत्र नलिई वा नवीकरण नगरी सञ्चालन गरिएका त्यस्ता संस्थाहरूलाई तत्काल बन्द गर्न वा कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनामा कतिपय संस्थाहरूले ‘भिसा प्रोसेसिङ’ र वैदेशिक रोजगारीको सुनिश्चितता जस्ता झुटा आश्वासन दिएर सर्वसाधारणलाई भ्रममा पार्ने गरेको उल्लेख गरिएको छ। “नियमित रूपमा कार्यालय सञ्चालन गरी वैदेशिक रोजगारी र उच्च शिक्षाका नाममा गलत प्रचार गर्ने संस्थाहरूलाई कानुनी दायरामा ल्याउन यो कदम चालिएको हो,” सूचनामा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयले तोकिएको १५ दिनको समयसीमालाई अटेर गरी अवैध रूपमा संस्था सञ्चालन गरिरहेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ ।