शुक्लाफाँटा नगरपालिकाद्वारा १३३ जनालाई सिपमूलक तालिम : स्वरोजगारतर्फ आकर्षित हुँदै स्थानीय
काठमाडौँ, चैत २ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउने उद्देश्यले १३३ जनालाई विभिन्न विषयमा सिपमूलक तालिम प्रदान गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको ‘लघु तथा घरेलु उद्योग प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत लक्षित वर्गलाई स्वरोजगार बनाउन यो पहल गरेको हो । तालिममा विशेषगरी आर्थिक रूपमा विपन्न, दलित, जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति, सहिद परिवार, द्वन्द्वपीडित र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई सहभागी गराइएको छ । कार्यक्रमअन्तर्गत काष्ठकला, ग्यास चुलो मर्मत, गुन्द्री बुन्ने, खेलौना बनाउने, अटो ड्राइभिङ, दुना–टपरी उत्पादन र फुट मसाज (सुत्केरी स्याहार) जस्ता सात विधामा तालिम प्रदान गरिएको हो ।
नगरपालिकाका उद्यम विकास सहजकर्ता धनबहादुर चौधरीका अनुसार तालिम प्राप्त गरेकामध्ये ३९ जनाले हाल आफ्नै व्यवसाय सुरु गरिसकेका छन् । “तालिमसँगै उनीहरूलाई व्यवसाय सञ्चालनमा सहज होस् भनेर आवश्यक उपकरण र सामग्रीसमेत अनुदानमा उपलब्ध गराइएको छ,” उहाँले भन्नुभयो ।
तालिमका सहभागीहरूले प्राप्त सीपले आफूहरूलाई आयआर्जनको बाटो खोलेको बताएका छन् । दुना–टपरी बनाउने तालिम लिनुभएकी सरिता चौधरीले उत्पादित सामग्री बजारमा बिक्री गरेर आम्दानी गर्न थालेको बताउनुभयो भने सिलाइ मेसिन अनुदानमा प्राप्त गर्नुभएका जगतबहादुर सिंहले आफ्नो गार्मेन्ट व्यवसाय विस्तारमा तालिमले ठूलो सहयोग पुगेको अनुभव सुनाउनुभयो ।
तालिम लिनेमा १८ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्, जसमा महिलाहरूको उपस्थिति उल्लेख्य छ । नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरले ‘हात–हातमा सीप र घर–घरमा रोजगारी’ पुर्याउने नगरपालिकाको नीति अनुरूप यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।