क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण तीव्र : वर्षाअघि नै यातायात खुलाउने तयारी, दुई लेनको बन्दै
काभ्रेपलाञ्चोक, २ चैत्र । अविरल वर्षा र बाढीपहिरोका कारण गम्भीर क्षति पुगेको बिपी राजमार्गको स्थायी पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। आगामी वर्षायाम सुरु हुनुअघि नै जोखिमयुक्त स्थानको पूर्वाधार निर्माण सम्पन्न गरी राजमार्गबाटै नियमित यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ।
सङ्घीय राजधानी काठमाडौंलाई पूर्वी र मध्यपहाडी जिल्लाहरूसँग जोड्ने ‘लाइफलाइन’ मानिने यो राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा हाल तीनवटा प्याकेजमा काम भइरहेको छ। डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, हालसम्म ठेक्का लागेका तीनवटा सडकखण्डमा करिब २५ प्रतिशत काम सम्पन्न भइसकेको छ।
“अहिलेको कामको गति हेर्दा आगामी दुई वर्षभित्र सम्पूर्ण सडक पुनर्निर्माणको काम सकिनेछ,” प्रमुख योगेशले भने। गत असोजमा आएको विनाशकारी बाढीले काभ्रेपलाञ्चोक र सिन्धुलीअन्तर्गत यस राजमार्गको करिब ३० किलोमिटर क्षेत्रमा ठूलो क्षति (वासआउट) पुर्याएको थियो।
पुनर्निर्माणका क्रममा सडकलाई बाढी प्रतिरोधी बनाउन विशेष ध्यान दिइएको छ। बाढीले पूर्ण रूपमा बगाएका स्थानहरूमा फेरि क्षति नहुने गरी आरसीसी (RCC) र प्लम्प पर्खाल लगाउने काम भइरहेको छ। हाल चौकीडाँडा, चारसयबेँसी र भकुण्डेबेँसीमा पर्खाल निर्माण जारी छ भने डालाबेँसी, मङ्गलटार र नार्के खण्डमा सडक चौडा गर्ने काम भइरहेको छ।
महत्त्वपूर्ण कुरा, अब यो राजमार्ग स्तरोन्नतिसहित ‘दुई लेन’को बन्नेछ। प्रमुख योगेशका अनुसार सडकखण्ड दुई लेनको हुनेछ भने सडकमा पर्ने ५ वटा पुलको छेउमा अर्को नयाँ पुल थपेर पुललाई समेत दुई लेनकै बनाइने योजना छ।
क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ। जसमध्ये काभ्रेपलाञ्चोकतर्फका खण्डलाई ७ अर्ब ५० करोड र सिन्धुलीको खण्डलाई १ अर्ब रुपैयाँ छुट्याइएको छ। सडक कार्यालयका अनुसार विभिन्न खण्डमा काम भइरहेको छ ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट निर्माण सुरु भएको १६० किलोमिटर लामो धुलिखेल–सिन्धुली–बर्दिबास (बिपी) राजमार्ग लामो समय लगाएर निर्माण सम्पन्न भएको थियो। खण्ड–खण्ड गरेर बनाइएको यो प्राविधिक रूपमा उत्कृष्ट राजमार्ग वि.सं. २०७२ असार १८ गते जापान सरकारले औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।