ढोरपाटनमा दादुरा प्रकोप: ५ हजार ६ सयलाई खोप लगाइयो, दुई सातापछि विद्यालय खुले

बागलुङ, ३ चैत । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य टोलीले खोप अभियानलाई तीव्रता दिएको छ । नगरपालिकाका नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका ५ हजार ६५६ जना बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाइएको हो ।

नगरपालिकाको वडा नं ७, ८ र ९ मा दादुराका सङ्क्रमित फेला परेपछि सङ्क्रमण अन्यत्र फैलिन नदिन गत फागुन २९ गतेदेखि चैत १ गतेसम्म विशेष खोप अभियान सञ्चालन गरिएको थियो । अभियानका क्रममा छुटेकाहरूलाई यही चैत ५ गतेसम्म बुर्तिबाङ अस्पतालबाट खोप दिने व्यवस्था मिलाइएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार हालसम्म ७ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने १०३ जना शङ्कास्पद बिरामी भेटिएका छन् । सङ्क्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (WHO) र प्रदेश जनस्वास्थ्य कार्यालयको विशेषज्ञ टोली ढोरपाटनमै खटिएको छ ।
अहिले बुर्तिबाङ अस्पतालमा २४ जना र बोबाङ स्वास्थ्य चौकीमा ६ जना सङ्क्रमितको उपचार भइरहेको छ । थप २१ जनाको नमुना परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको घिमिरेले जानकारी दिनुभयो ।

गाउँमा दादुरा सङ्क्रमण तीव्र रूपमा फैलिएपछि करिब दुई सातादेखि बन्द रहेका विद्यालयहरू आइतबारदेखि सञ्चालनमा आएका छन् । सङ्क्रमणको जोखिमका कारण नगरपालिकाले यस क्षेत्रका करिब आधा दर्जन विद्यालय बन्द गराएको थियो ।

नगरपालिकाका स्वास्थ्य प्रमुख भूमिश्वार शर्माले सङ्क्रमितहरूको उपचार भइरहेको र धेरैजसोलाई खोप लगाइ सकिएकाले जोखिम कम हुँदै गएपछि विद्यालय खोल्ने निर्णय गरिएको बताउनुभयो । गत फागुन २१ गते बोबाङ गाउँका बालबालिकामा दादुराको लक्षण देखिएपछि यो प्रकोप पहिचान भएको थियो । स्वास्थ्यकर्मीले खोप लगाउन छुटेका बालबालिकालाई पहिचान गरी घरमै पुगेर भए पनि खोप लगाउने कार्य जारी राखेका छन् ।