नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप ५ दिनमा ४६ हजारले लगाए
नवलपरासी, ४ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सञ्चालित जापानिज इन्सेफलाइटिस विरुद्धको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन्। जिल्लाका आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन भइरहेको यस अभियानमा मङ्गलबारसम्म लक्षित जनसङ्ख्याको ३१.१ प्रतिशतले खोप सेवा लिइसकेका छन्।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का अनुसार खोप लगाउनेहरूमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन्। स्थानीय तहहरूसँगको समन्वयमा अभियान प्रभावकारी रूपमा अगाडि बढेको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार जिल्लाका सबै पालिकामा खोप सेवा नियमित छ। विशेषगरी मध्यविन्दु नगरपालिका र बौदिकाली गाउँपालिकामा खोपको प्रगति उत्साहजनक देखिएको छ। मध्यविन्दुमा लक्षित जनसङ्ख्याको ४९.८ प्रतिशत र बौदिकालीमा ४७ प्रतिशत प्रगति भएको जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालले जानकारी दिनुभयो।
जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण र मृत्युदर पछिल्ला वर्षहरूमा बढ्दै गएपछि सरकारले ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी चैत १ गतेदेखि ५ गतेसम्म यो विशेष अभियान सञ्चालन गरेको हो। यस अभियानमार्फत जिल्लाका करिब एक लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।
सङ्क्रमण र मृत्युको डरलाग्दो तथ्याङ्क
स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा मात्रै जिल्लामा जापानिज इन्सेफलाइटिसका १५ जना सङ्क्रमित फेला परेका छन्, जसमध्ये ६ जनाको मृत्यु भइसकेको छ। यसअघि आर्थिक वर्ष २०७९/८० मा सात जना सङ्क्रमितमध्ये पाँच जनाको र आव २०८०/८१ मा आठ जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको थियो।
सङ्क्रमणको जोखिम उच्च रहेकाले लक्षित उमेर समूहका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाउन स्वास्थ्य प्रमुख चापागाईंले आग्रह गर्नुभएको छ। खोप अभियानलाई सफल पार्न जिल्लाभरका स्वास्थ्यकर्मी र स्वयंसेवकहरू परिचालन गरिएका छन्।