डोटीमा बोलेरो जिप दुर्घटना: दुई युवकको घटनास्थलमै मृत्यु, ९०० मिटर तल खस्यो जिप

डोटी, १० चैत । डोटीको आदर्श गाउँपालिकामा गएराति भएको जिप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गिरीचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट ९०० मिटर तल खस्दा ठूलो मानवीय क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृत्यु हुनेमा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश विक रहेका छन् ।

दुर्घटना राति करिब साढे १२ बजे आदर्श गाउँपालिका–६ रौसेल्लास्थित सडक खण्डमा भएको थियो । सु.प.प्र. ०१ ००१ च ३९२३ नम्बरको जिप सडकको घुम्तीबाट सिधै तल सायली गाड (खोला) मा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिप र मृतक दुवैको शव सडकभन्दा करिब ९०० मिटर तल खोंचमा पुगेको थियो । अत्यधिक अप्ठ्यारो र गहिरो खोँचमा दुर्घटना भएकाले शव निकाल्न केही समय लागेको थियो । हाल प्रहरी र स्थानीयको सक्रियतामा मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

जिप दुर्घटनाको स्पष्ट कारण खुल्न नसके पनि तीव्र गति वा प्राविधिक समस्या हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।