इरान–इजरायल तनाव उत्कर्षमा : ट्रम्पको ‘गोप्य वार्ता’को दाबीबीच इजरायलमाथि इरानी क्षेप्यास्त्र प्रहार
एजेन्सी, १० चैत्र । मध्यपूर्वमा युद्धविरामको झिनो आशा पलाएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव थप चुलिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘धेरै राम्रो’ वार्ता भइरहेको दाबी गरे पनि त्यसको बेवास्ता गर्दै तेहरानले सैन्य आक्रमणलाई निरन्तरता दिएको हो।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि गोप्य वार्ता भइरहेको उल्लेख गर्दै पाँच दिनभित्र सहमति नभए कडा सैन्य कदम चालिने चेतावनी दिएका थिए। उनको यो भनाइसँगै विश्व बजारमा सकारात्मक सङ्केत देखिँदै तेलको मूल्यमा केही गिरावट आएको थियो।
तर, इरानले भने अमेरिकासँग कुनै औपचारिक संवाद नभएको स्पष्ट पारेको छ। इरानी अधिकारीहरूले ट्रम्पको भनाइलाई तेलको मूल्य घटाउने र विश्व बजारमा प्रभाव पार्ने ‘रणनीतिक प्रोपोगान्डा’का रूपमा व्याख्या गरेका छन्।
केही सञ्चारमाध्यमले इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफलाई वार्ताको प्रमुख पात्रका रूपमा औँल्याएका छन्। अमेरिकी प्रतिनिधिहरू स्टिभ विटकफ र जारेड कुशनरले पाकिस्तानमा सम्भावित भेटवार्ता गर्न सक्ने चर्चा चले पनि ह्वाइट हाउसले यसको औपचारिक पुष्टि गरेको छैन। यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग संवाद गर्दै क्षेत्रीय शान्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
कूटनीतिक संवादको चर्चा चलिरहेकै बेला मङ्गलबार बिहान इरानले इजरायलमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणबाट इजरायलको उत्तरी क्षेत्रका केही संरचनामा क्षति पुगेको छ, यद्यपि मानवीय क्षति भने भएको छैन।
उता, लेबनानतर्फ इजरायलले आक्रामक कारबाही थप तीव्र बनाएको छ। इजरायली सेनाले दक्षिण बेरुतमा लगातार हवाई आक्रमण गर्नुका साथै इरान समर्थित हिजबुल्लाहविरुद्ध स्थलगत सैन्य अभियान पनि बढाएको छ। यस द्वन्द्वमा हजारौँ मानिस मारिएका छन् भने लाखौँ विस्थापित भएका छन्।
नेतान्याहु भन्छन्– ‘सैन्य कारबाही रोकिँदैन’
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकासँग सहमतिको सम्भावना रहेको सङ्केत पाए पनि आफ्नो देशको सुरक्षाका लागि इरान र लेबनानमा भइरहेको सैन्य कारबाही नरोकिने स्पष्ट पारेका छन्। हाल मैदानमा प्राप्त सैन्य उपलब्धिलाई कूटनीतिक अवसरमा रूपान्तरण गर्न सकिने उनको भनाइ छ।
यसअघि ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए। तर, सम्भावित प्रतिशोधको जोखिम र विश्व अर्थतन्त्रमा पर्न सक्ने गम्भीर असरलाई ध्यानमा राख्दै उनी पछि हटेको विश्लेषकहरूको भनाइ छ।
इरानले तेल आपूर्तिको प्रमुख मार्ग ‘स्ट्रेट अफ होर्मुज’ जलडमरुमार्फत हुने आवागमनलाई प्रभावित पारेपछि विश्व बजारमा अस्थिरता छाएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुखले यो अवस्था लम्बिँदै गएमा विश्वले ‘ऐतिहासिक ऊर्जा सङ्कट’को सामना गर्नुपर्ने चेतावनी दिएका छन्।