झापामा ‘बर्ड फ्लु’ को सङ्क्रमण पुष्टि : सङ्कटग्रस्त क्षेत्र घोषणा, पक्षीजन्य वस्तु ओसारपसारमा पूर्ण रोक

झापा, १० चैत । झापाको दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण देखिएसँगै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउँदै कुखुरा तथा पक्षीजन्य वस्तुको ओसारपसारमा पूर्ण रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालयले आज (मङ्गलबार) एक सार्वजनिक सूचना जारी गर्दै रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानेर चारै दिशामा ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनामा सङ्क्रमण अन्यत्र फैलिन नदिन कडा कदम चालिएको उल्लेख छ। प्रशासनले प्रभावित स्थानीय तहहरूबाट जीवित पक्षी, मासु, अण्डा, सुली, दाना र अन्य पक्षीजन्य सामग्री बाहिर लैजान तथा ओसारपसार गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दमक नगरपालिका–१० स्थित एउटा एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा कडा खालको ‘हाइप्याथोजेनिक’ बर्ड फ्लु पुष्टि भएको हो। सङ्क्रमण यकिन भएलगत्तै उक्त फार्मका सबै कुखुरा सोमबार नै सुरक्षित रूपमा नष्ट (डिस्पोज) गरिसकिएको उनले जानकारी दिइन्।

बर्ड फ्लुको त्रास दमक र झापा गाउँपालिकामा मात्र सीमित छैन। जिल्लाका मेचीनगर र अर्जुनधारा नगरपालिकालगायतका क्षेत्रमा पनि अस्वाभाविक रूपमा कुखुरा मरिरहेको सूचना प्राप्त भएको प्रमुख भट्टराईले बताइन्।

झापासँगै जोडिएका छिमेकी जिल्ला मोरङ र सुनसरीमा समेत बर्ड फ्लुको सङ्क्रमण फैलिसकेकाले झापा अहिले उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन्। प्रशासनले किसान र आम उपभोक्तालाई विशेष सतर्कता अपनाउन अपिल गरेको छ।