देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
काठमाडौं, चैत १३ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा छ । गण्डकी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको छ ।
दिउँसोको पूर्वानुमान
आज दिउँसो देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगका धेरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात हुन सक्ने र तराईका थोरै स्थानमा समेत वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
रातिको पूर्वानुमान
आज राति कोशी र मधेश प्रदेश लगायत पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाको सतर्कता सन्देश
मौसममा आएको यो परिवर्तनले जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन तथा सडक र हवाई यातायातमा समेत आंशिक असर पर्न सक्ने देखिएको छ । तसर्थ, मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहितको वर्षा तथा हिमपातबाट जोगिन आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्लो जानकारी लिइरहन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।