मन्त्रिपरिषद्को पहिलो बैठक: जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय : सस्मित पोखरेल सरकारको प्रवक्ता

काठमाडौँ, चैत १३ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेलगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका नवनियुक्त प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दिनुभएको जानकारीअनुसार, प्रतिवेदनले कारबाहीका लागि सिफारिस गरेका सुरक्षा निकायका पदाधिकारीहरूको हकमा थप अध्ययन गर्न एक समिति गठन गरिनेछ भने अन्यको हकमा सिफारिस तत्काल कार्यान्वयन गरिनेछ ।

उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई कारबाहीका लागि सिफारिस गरिएको छ । बैठकले सो प्रतिवेदनलाई सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै, मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ । बैठकले ‘जेनजी’ आन्दोलन लगायत विभिन्न समयमा भएका राजनीतिक आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शासकीय सुधारका विभिन्न योजनाहरू समेत स्वीकृत गरेको छ ।

यसअघि सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री र सचिवहरूलाई निर्देशन दिनुहुँदै जनपक्षीय र परिणाममुखी काममा केन्द्रित हुन आग्रह गर्नुभएको थियो । उहाँले प्रशासनिक ढिलासुस्ती अन्त्य गरी जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह गर्न विशेष निर्देशन दिनुभएको छ ।