काठमाडौँसहित देशभर वर्षा सुरु : शनिबारसम्मै मौसम बदली रहने प्रक्षेपण

काठमाडौँ, १३ चैत । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भई विभिन्न स्थानमा वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल सातै प्रदेशका विभिन्न जिल्लाहरूमा वर्षा भइरहेको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले आज र भोलि देशभर मौसम बदली भई वर्षा हुने जानकारी दिनुभयो । विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन घण्टामा म्याग्दी र सङ्खुवासभामा भारी वर्षा भएको छ । म्याग्दीमा ६० मिलीमिटर र सङ्खुवासभामा ५० मिलीमिटर वर्षा मापन गरिएको छ ।

यस्तै, नुवाकोटमा २६ मिलीमिटर, लमजुङमा १७ मिलीमिटर, कास्कीमा ७.८ मिलीमिटर, तनहुँमा ७.२ मिलीमिटर तथा चितवन र म्याग्दीमा ६.४ मिलीमिटर वर्षा भएको छ ।

आज रातिको पूर्वानुमान
विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागमा भने हिमपातको सम्भावना रहेको छ ।

शनिबारको मौसम
शनिबार पनि कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा साधारणतया बदली भई मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने विभागले जनाएको छ । देशका अन्य पहाडी तथा हिमाली भूभागमा पनि आंशिकदेखि साधारण बदली रही थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ ।

वर्षा र झरीका कारण हुन सक्ने चिसो तथा हुरीबतास र चट्याङबाट जोगिन विभागले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।