विश्वशान्ति र नयाँ सरकारको सफलताको कामना गर्दै बेनीमा साढे दुई करोड दीप प्रज्ज्वलन

काठमाडौँ, चैत १३ । । विश्वमा शान्ति र भाइचाराको कामना गर्दै म्याग्दीको सदरमुकाम बेनीमा आज दुई करोड ५० लाख थान दीप प्रज्ज्वलन गरिएको छ । रामनवमी पर्वको पावन अवसरमा विश्व हिन्दू महासङ्घ, म्याग्दीले कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थल (दोभान) नजिकै यो भव्य दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको हो ।

महासङ्घका उपाध्यक्ष विक्रम श्रेष्ठका अनुसार विश्वभर शान्तिको सन्देश फैलाउनुका साथै बेनी बजारको धार्मिक एवं पर्यटकीय गरिमालाई थप उजागर गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । पवित्र नदी किनारमा गरिएको यो दीप प्रज्ज्वलनले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

दीप प्रज्ज्वलनपछि आयोजित समारोहमा बोल्दै महासङ्घका जिल्ला अध्यक्ष दण्डपानी शर्माले विशेषगरी मध्यपूर्वका विभिन्न देशहरूमा जारी द्वन्द्व अन्त्य भई विश्वव्यापी रूपमा शान्ति कायम होस् भन्ने कामना गरिएको बताउनुभयो । साथै, आजै (शुक्रबार) गठन भएको नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आम नागरिकको अपेक्षा र आवश्यकताअनुसार मुलुकमा सुशासन र समृद्धिको मार्ग प्रशस्त गर्न सफल होस् भन्ने शुभेच्छासमेत सो अवसरमा प्रकट गरिएको छ ।

नदी किनारमा प्रज्ज्वलित लाखौँ दीपले बेनी बजार साँझको समयमा झलमल्ल बनेको थियो । उक्त धार्मिक अनुष्ठानमा स्थानीय बासिन्दा, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा श्रद्धालु भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो ।