नेकपा (एमाले) अध्यक्ष ओली पक्राउको विरोधमा कार्यकर्ता सडकमा : चावहिल क्षेत्रमा प्रदर्शन

काठमाडौँ,  चैत १४ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा पार्टीका कार्यकर्ताहरूले संघीय राजधानी काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन सुरु गरेका छन् । शनिबार बिहान सरकारले अध्यक्ष ओलीलाई नियन्त्रणमा लिएपछि एमाले निकट कार्यकर्ता र भ्रातृ संगठनहरू विरोधमा उत्रिएका हुन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आकस्मिक सचिवालय बैठक बसिरहेका बेला काठमाडौँको चावहिल लगायतका क्षेत्रमा कार्यकर्ताहरूले सडक प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले सरकार विरुद्ध चर्को नाराबाजी गर्दै पक्राउको कदमलाई ‘प्रतिशोधपूर्ण राजनीति’ को संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीलाई शनिबार बिहानै पक्राउ गरिए लगत्तै एमालेका शीर्ष नेताहरूले सरकारको यस कदमको कडा भर्त्सना गर्दै सडक आन्दोलनको चेतावनी दिएका थिए । पार्टीको आधिकारिक धारणा र आगामी रणनीति तय गर्न अहिले च्यासलमा सचिवालयको बैठक जारी रहेको छ ।

सडकमा उत्रिएका प्रदर्शनकारीहरूले राजनीतिक प्रतिशोध बन्द गर्न र अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न माग गरिरहेका छन्। प्रदर्शनका कारण चावहिल क्षेत्रको यातायात र जनजीवन समेत प्रभावित भएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।