जुम्लाको तिलामा आगलागी: एसईई दिन आएका एक विद्यार्थीको मृत्यु

काठमाडौँ चैत १४ । जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारमा गए राति भएको भीषण आगलागीमा परी एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १० मा अध्ययनरत १५ वर्षीय क्षितिज खत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निर्देश बरालका अनुसार गए राति करिब १ः०० बजेको समयमा घरमा अचानक आगलागी भएको थियो । सुर्खेतमा बस्दै आएका खत्री माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुनका लागि केही दिनअघि मात्र कुडारीस्थित आफ्नो घर आएका थिए ।

घटनाको समयमा मृतक खत्री घरमा एक्लै रहेको बताइएको छ । उनका बुबा रोजगारीको सिलसिलामा भारतमा र आमा जिल्ला बाहिर रहेको वडाध्यक्ष धनबहादुर शाहीले जानकारी दिनुभयो । वडाध्यक्ष शाहीका अनुसार घरमा आगलागी भएपछि सुतिरहेकै अवस्थामा धुवाँले निसास्सिएर खत्रीको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रहरी टोलीले घटनास्थल पुगेर घटनाको मुचुल्का तयार पारेको छ । मृतकको शव परीक्षण (पोस्टमार्टम) का लागि जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।