नेपाली कांग्रेसद्वारा नवनिर्वाचित सांसदहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम आयोजना
काठमाडौँ चैत १४ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित आफ्ना सांसदहरूका लागि ‘संसदीय सचेतना कार्यक्रम’ आयोजना गरेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबारदेखि सुरु भएको उक्त कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास र प्रक्रियाका विषयमा अभिमुखीकरण प्रदान गरिनेछ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यस प्रशिक्षण कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यतालिका रहेको छ । जसअन्तर्गत पार्टी सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले नवनिर्वाचित सांसदहरूलाई संसदीय मर्यादा र अभ्यासका बारेमा जानकारी गराउनुहुनेछ ।
हालै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना गरी कुल ३८ जना सांसद निर्वाचित भएका छन् । त्यस्तै, राष्ट्रियसभामा पार्टीका तर्फबाट ९ जना नवनिर्वाचित सांसदहरू रहेका छन् ।
सांसदहरूलाई सदनमा प्रभावकारी भूमिका निर्वाह गर्न र संसदीय मूल्य-मान्यताबारे सुसूचित गराउने उद्देश्यले यो सचेतना कार्यक्रम आयोजना गरिएको पार्टी कार्यालयले जनाएको छ ।