धनुषाको होटलमा युवती मृत फेला, सञ्चालकसहित कर्मचारी फरार

धनुषा, १७ चैत । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक होटलमा पोखराकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । ढल्केबरमा सञ्चालित ‘जुन तारा स्टाप लाइन’ होटलमा मंगलबार २३ वर्षीया जेनिसा विकको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार पोखरा महानगरपालिका–१३ मियापाटी स्थायी घर भएकी विक होटलको कोठामा शङ्कास्पद अवस्थामा भेटिएकी हुन् । शव फेला पर्दा उनको मुखबाट फिँज निस्किएको देखिएको प्रहरीले जनाएको छ ।

घटना सार्वजनिक भएलगत्तै होटल सञ्चालक रामपुकार साह र त्यहाँ कार्यरत अन्य कर्मचारीहरू होटल छाडेर फरार भएका छन् । होटलमा शव भेटिएको र सञ्चालकहरू सम्पर्कविहीन भएपछि घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई परीक्षण (पोस्टमार्टम) का लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने एसपी कुँवरले बताउनुभयो ।