आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने हो कि गोरखापत्र पढेर थाहा पाउनुपर्ने : कांग्रेस सांसद आङ्देम्बे
काठमाडौं, १९ चैत्र । नेपाली कांग्रेसले जाँचबुझ आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरेको भन्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस नेता तथा सांसद भीष्मराज आङ्देम्बेले प्रतिवेदनका विषयमा सरकारको जवाफ माग गरेका हुन्।
संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै सांसद आङ्देम्बेले गत भदौ २३ र २४ गते सिंहदरबारमा भएका घटनाको निष्पक्ष अध्ययन हुनुपर्नेमा जोड दिए। जाँचबुझ आयोगले भदौ २३ गतेको घटनाको मात्र अध्ययन गरेको तर २४ गतेको घटनालाई बेवास्ता गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
“कसैले २३ गतेको घटना मात्र देख्ने र २४ गतेको घटना नदेख्ने प्रवृत्ति एकदमै गलत छ,” उनले भने।
आयोगको प्रतिवेदन सरकारले लुकाउन खोजेकोप्रति व्यंग्य गर्दै उनले संसद्मा प्रश्न गरे, “जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने हो कि जनताले गोरखापत्र पढेर मात्र थाहा पाउनुपर्ने हो ?”
यसैगरी, नेता आङ्देम्बेले नयाँ पुस्ता (जेन–जी) ले उठाएका मुद्दा र परिवर्तनको चाहनालाई आत्मसात् गर्न नेपाली कांग्रेस पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे। कांग्रेसले इतिहासका हरेक कालखण्डमा देशमा भएका परिवर्तनको नेतृत्व गर्दै आएको स्मरण गराउँदै उनले जेन–जी विद्रोहले उठाएका जायज विषयलाई तार्किक निष्कर्षमा पुर्याउन पार्टी प्रतिबद्ध रहेको बताए।
एक जिम्मेवार राजनीतिक दलका हैसियतले कांग्रेसले सधैँ सकारात्मक परिवर्तनलाई समर्थन गर्ने र सरकारका गलत कामकारबाहीविरुद्ध निरन्तर खबरदारी गरिरहने उनले स्पष्ट पारे।