भाडा समायोजन नगरिए देशभरका सवारी ठप्प पार्ने यातायात व्यवसायीको चेतावनी

काठमाडौँ, २० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पटक पटक वृद्धि गरे पनि सार्वजनिक यातायातको भाडा समायोजन नगरिएको भन्दै व्यवसायीहरूले कडा आन्दोलनको चेतावनी दिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई अन्तिम ‘अल्टिमेटम’ दिँदै तत्काल भाडा नबढाए देशभरका सवारी साधन ठप्प पार्ने वा आफैँ भाडादर घोषणा गर्ने घोषणा गरेको हो।

छोटो अन्तरालमै तीन पटकसम्म इन्धनको मूल्य बढेकाले अहिलेकै भाडादरमा सवारी सञ्चालन गर्न नसकिने महासंघको ठहर छ। हवाई इन्धनको मूल्य बढ्नासाथ हवाई भाडा तत्काल समायोजन हुने तर लाखौँ सर्वसाधारण जोडिएको सार्वजनिक यातायातको हकमा सरकारले बेवास्ता गरेको व्यवसायीहरूको आरोप छ।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले सिफारिस गरेको वैज्ञानिक भाडा समायोजन विधिअनुसार तत्काल निर्णय लिन माग गरिएको छ। विभागले यसअघि नै यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत र मालवाहक सवारीमा तराई तथा पहाडमा क्रमशः ८.८१ र १४.२९ प्रतिशत भाडा बढाउन सिफारिस गरिसकेको भए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त फाइल थन्काएर राखेको महासंघले जनाएको छ।

“२०७२ सालदेखि १३ वटा मुख्य सूचकहरूका आधारमा भाडा समायोजन भएको छैन,” विज्ञप्तिमा भनिएको छ, “अहिले दैनिक लाखौँ रुपैयाँ घाटा सहेर व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था छ। पटक–पटकको अनुरोधलाई सरकारले कमजोरी ठानेकाले अब हामी घाटा खाएर सेवा दिन सक्दैनौँ।”

महासंघले सरकारले तत्काल उचित निर्णय नलिए वैज्ञानिक विधिलाई नै आधार बनाएर व्यवसायीहरूले स्वतःस्फूर्त रूपमा भाडा वृद्धि गर्ने र सेवा समेत रोक्न सक्ने चेतावनी दिएको छ। भाडा समायोजन नगरिएका कारण उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार स्वयं राज्य नै हुनुपर्ने व्यवसायीहरूको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *