अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा ‘बाउन्स ब्याक’ : नेप्से ८३ अङ्कले बढ्दा सबै उपसमूह हरियाली
काठमाडौं, २३ चैत्र । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ। आइतबार फराकिलो अङ्कले घटेर ‘प्यानिक’ अवस्थामा पुगेको बजार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सकारात्मक आश्वासनपछि आज ८३.३३ अङ्कले उकालो लागेर २ हजार ७६०.०२ विन्दुमा बन्द भएको छ।
पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा केही व्यवसायी पक्राउ परेपछि लगानीकर्तामा त्रास फैलिएको थियो। जसका कारण आइतबार नेप्से १०० अङ्कभन्दा बढीले ओरालो लागेको थियो।
बजारमा चरम निराशा छाएपछि सोमबार बिहानै स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिहरूले अर्थमन्त्री वाग्लेलाई भेटेका थिए। भेटका क्रममा अर्थमन्त्रीले वर्तमान सरकार निजी क्षेत्र र पुँजीबजारमैत्री रहेको प्रस्ट पार्दै इन्साइडर ट्रेडिङ, म्यानुपुलेसन (चलखेल) र अन्य अनैतिक कार्यमा संलग्न नभएका लगानीकर्ता आत्तिनु नपर्ने आश्वासन दिएका थिए। सरकारको यही सकारात्मक सन्देशको प्रभाव सोमबारको बजारमा देखिएको जानकारहरू बताउँछन्।
नेप्से परिसूचक उच्च अङ्कले बढे पनि कारोबार रकम (भोल्युम) भने अघिल्लो दिनको तुलनामा केही खुम्चिएको छ। आइतबार १२ अर्ब ३८ करोडको सेयर किनबेच भएकोमा सोमबार १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ।
यस दिन ३४५ कम्पनीका २ करोड ५१ लाख ५५ हजार कित्ता सेयर १ लाख २४ हजार ९३ पटक खरिदबिक्री भएका छन्। सोमबार सेन्सेटिभ इन्डेक्स १४.३० अङ्क, फ्लोट इन्डेक्स ६.०१ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.०३ अङ्कले बढेका छन्।
सोमबारको बजारमा ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त, भुजुङ्ग हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटेल फरेस्ट इनको सेयर सर्किट लेभलमा कारोबार भएको हो। यस दिन मूल्य घट्ने कम्पनीहरूको गिरावटदर ४ प्रतिशतभन्दा कम छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको मात्रै १ अर्ब १३ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसैगरी, हिमालयन रि–इन्स्योरेन्सको करिब ५५ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरको ४८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेर बजार पूर्ण रूपमा हरियाली बनेको छ। सबैभन्दा बढी जलविद्युत् उपसमूहको परिसूचक ४.५९ प्रतिशतले बढेको छ। त्यस्तै, वित्त (फाइनान्स) उपसमूह ४ प्रतिशत तथा बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।