सुनचाँदीको मूल्यमा गिरावट : सुन तोलामा ४ हजार ३ सयले घट्यो

काठमाडौं, २६ चैत्र । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँ कायम गरिएको छ । यसअघि हिजो (बुधबार) सुनको मूल्य हालसम्मकै उच्च बिन्दु नजिक पुग्दै प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । गत मङ्गलबार भने सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्य पनि सस्तिएको छ । चाँदी तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार २५ रुपैयाँ रहेको थियो ।

नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा निर्धारण हुने गर्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ७१३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।