आजदेखि पेट्रोल लिटरकै २१९ रुपैयाँ पुग्यो, डिजेल र मट्टितेल र ग्याँसमा कति रुपैयाँ बढ्यो?
काठमाडौँ, २७ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र निगमको घाटा चुलिँदै गएको कारण देखाउँदै शुक्रबार बिहानैदेखि लागू हुने गरी इन्धनको मूल्य बढाइएको हो ।
निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २५/२५ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको छ । यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ ।
यस्तो छ नयाँ मूल्यसूची (काठमाडौँ उपत्यका):
पेट्रोल: २१९ रुपैयाँ (प्रतिलिटर)
डिजेल र मट्टितेल: २०७ रुपैयाँ (प्रतिलिटर)
एलपी ग्यास: २,०१० रुपैयाँ (प्रतिसिलिन्डर)
हवाई इन्धन (आन्तरिक): २५७ रुपैयाँ (प्रतिलिटर)
निगमले जारी गरेको विज्ञप्तिअनुसार मध्यपूर्वमा जारी युद्ध र विश्वव्यापी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेकाले नेपालमा पनि मूल्य समायोजन अनिवार्य भएको हो ।
सरकारले हालै भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने घोषणा गरे तापनि अन्तर्राष्ट्रिय स्तरमा भएको मूल्यवृद्धिको तुलनामा सो छुट पर्याप्त नभएको र निगमको घाटा न्यूनीकरण गर्न मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको निगमको दाबी छ ।
इन्धनको यो पछिल्लो मूल्यवृद्धिले बजारमा सार्वजनिक यातायातको भाडा र दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत ठूलो चाप पर्ने देखिएको छ, जसले आम सर्वसाधारणको दैनिकी थप कष्टकर बनाउने निश्चित छ ।