मध्यपूर्व युद्धको धक्का : विश्व आपूर्ति शृङ्खला तहसनहस, तेलको मूल्य १०० डलर नजिक, युरोपमा ऊर्जा सङ्कटको त्रास

एजेन्सी, २७ चैत्र । मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा गहिरो असर परेको छ । लगानीकर्ताहरू शान्ति वार्ताको पर्खाइमा रहँदा विश्वका प्रमुख सेयर बजारमा सामान्य सुधार देखिए पनि तेल बजार भने चरम अस्थिर बनेको छ ।

प्रमुख तेल ढुवानी जलमार्गहरूमा भएको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट क्रुड) को मूल्य प्रतिब्यारेल १०० डलरको हाराहारीमा पुगेको छ । यसले विश्वभर ठूलो ऊर्जा सङ्कट निम्त्याउने चिन्ता बढाएको छ ।

ऊर्जा सङ्कट र मूल्यवृद्धिको दबाब कम गर्न जापानले आफ्नो आपत्कालीन राष्ट्रिय भण्डार (स्ट्र्याटेजिक रिजर्भ) बाट थप तेल निकाल्ने घोषणा गरेको छ । जापान सरकारले करिब २० दिनलाई पुग्ने तेल बजारमा पठाउने तयारी गरेको छ । यसअघि पनि मूल्य नियन्त्रण गर्न जापानले भण्डारको तेल प्रयोग गरेको थियो ।

यसैबीच, अवरुद्ध जलमार्गहरू खुलाउने र तेल ढुवानीलाई सहज बनाउने विषयमा अमेरिका र बेलायतका शीर्ष नेताहरूबीच छलफल भएको छ । युरोपेली सङ्घ (ईयू) ले भने अन्तर्राष्ट्रिय जलमार्गमा विनाकुनै कर वा दस्तुर स्वतन्त्र आवतजावतको सुनिश्चितता हुनुपर्ने अडान राखेको छ ।

यसै सन्दर्भमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले जलमार्ग प्रयोग गर्ने व्यावसायिक जहाजहरूसँग शुल्क असुल्ने प्रयास गरे त्यसको कडा जवाफ दिने चेतावनी दिनुभएको छ । यद्यपि, उहाँले छिट्टै तेलको आपूर्ति सामान्य अवस्थामा फर्किने दाबीसमेत गर्नुभयो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युद्ध र आपूर्ति शृङ्खलाको अवरोधका कारण समग्र विश्वको आर्थिक वृद्धिदर घट्ने चेतावनी दिएको छ । इन्धन र ढुवानी खर्च बढ्दा खाद्यान्नको मूल्य अकासिने र विश्वभरका करोडौँ मानिस भोकमरी र खाद्य सङ्कटको चपेटामा पर्न सक्ने कोषको विश्लेषण छ ।

यस सङ्कटसँग जुध्न प्रभावित देशहरूलाई विश्व बैंक र युरोपेली विकास बैंकले ठूलो आर्थिक सहायता (राहत प्याकेज) उपलब्ध गराउने तयारी गरिरहेका छन् ।

युद्धकै कारण युरोपमा ग्यास आपूर्ति प्रभावित हुँदा आगामी जाडोयाममा गम्भीर ऊर्जा सङ्कट निम्तिन सक्ने चेतावनी दिइएको छ । हाल ग्यास भण्डारण न्यून रहेकाले समयमै आपूर्ति सहज नभए युरोपेली राष्ट्रहरूले जाडोमा इन्धन अभावको ठूलो सास्ती खेप्नुपर्नेछ ।

अर्कोतर्फ, मध्यपूर्वमा हवाई सुरक्षाको जोखिम उच्च भएपछि विश्वका प्रमुख एयरलाइन्स कम्पनीहरूले उक्त क्षेत्रका विभिन्न गन्तव्यहरूमा गर्दै आएको उडान अनिश्चितकालका लागि स्थगित गरेका छन् ।