अख्तियारको त्रासले तर्सियो सेयर बजार : नेप्से ३३ अङ्कले घट्दा ९ अर्बको कारोबार

काठमाडौं, ३ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमाथि पनि अनुसन्धान गर्ने हल्लाले बिहीबार सेयर बजार नराम्ररी प्रभावित भएको छ । अघिल्लो कारोबार दिन (बुधबार) ३३ अङ्कले नै बढेको सेयर बजार मापक नेप्से परिसूचक यस दिन ३३.८३ अङ्कले घटेर २८३३.०३ विन्दुमा झरेको छ ।

आफ्नो अनुसन्धानको दायरा फराकिलो पार्ने उद्देश्यले अख्तियारले निजी क्षेत्रका कम्पनीहरूमाथि पनि निगरानी र अनुसन्धान गर्ने योजना बनाएको खबर बाहिरिएपछि निजी क्षेत्रसँगै पुँजी बजारका लगानीकर्ताहरू तरङ्गित भएका हुन् । जसको प्रत्यक्ष असर बिहीबारको बजारमा देखिएको छ ।

समग्र बजार घट्दा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.४१ अङ्कले र फ्लोट इन्डेक्स २.२८ अङ्कले ओरालो लागेका छन् ।

परिसूचकसँगै यस दिन कारोबार रकममा पनि केही गिरावट आएको छ । बुधबार साढे १० अर्ब रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस दिन ३४२ कम्पनीका २ करोड ७ लाख ४३ हजार कित्ता सेयर १ लाख ११ हजार ६०७ पटक खरिदबिक्री भएका छन् ।

बजारमा भारी गिरावट आए पनि बिहीबार ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ । रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको हो । मूल्य बढेका अन्य कम्पनीहरूको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।

अर्कोतर्फ, सिन्धु विकास बैंकका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन् । उक्त बैंकको सेयर मूल्य ९.४७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो । उक्त कम्पनीको सर्वाधिक ६१ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो । त्यसैगरी, नेसनल हाइड्रोपावरको साढे ५५ करोड र एसवाई प्यानल नेपालको साढे ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको परिसूचक घटेर बजार पूरै राताम्मे भएको छ । जसमध्ये ‘वित्त’ उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् ।