देशका केही पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना : तराईमा गर्मी बढ्ने
काठमाडौँ, वैशाख ५ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि साधारणतया बदली रहे पनि अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाएको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेश प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहने र तराईका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा आज मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसैगरी, लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
मौसमविद्हरूका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रलगायत देशका केही अन्य भू-भागमा आज ‘तातो दिन’ हुने सम्भावना रहेकाले बढ्दो गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
आज राति भने देशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा रातिको समयमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।