हरेक १२ वर्षमा हुने परम्परा : पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै
काठमाडौं, ६ बैशाख । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रअन्तर्गत पर्ने ऐतिहासिक जयवागेश्वरी मन्दिरको ‘कलेवर’ (रूप वा आवरण) फेर्ने काम धमाधम भइरहेको छ । हरेक १२/१२ वर्षमा मन्दिरभित्र रहेका देवीदेवताको कलेवर फेर्ने परम्पराअनुरूप अहिले जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति निर्माण गर्ने कार्य भइरहेको हो ।
पशुपति क्षेत्र विकास कोषकी सूचना अधिकारी अनिता भट्टका अनुसार, आगामी वैशाख १८ गतेभित्र कलेवर फेर्ने सम्पूर्ण काम सम्पन्न गर्ने गरी तीव्र रूपमा काम अघि बढाइएको छ ।
सूँढ नभएको गणेशको मूर्ति
जयवागेश्वरी मन्दिरमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको विश्वास गरिन्छ । यसैकारण यहाँको गणेशको मूर्तिमा सूँढ नभएको जानकारहरू बताउँछन् । जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीको संयुक्त रूप मानिए पनि विशेषगरी विद्याकी देवीका रूपमा पुज्ने गरिन्छ । तन्त्र विद्याको साधना गर्ने साधकहरूले अन्तिममा जयवागेश्वरीमै आएर पूजा र सिद्धि गर्ने परम्परासमेत रहिआएको छ ।
कलिगत संवत् ३२३२ मा निर्माण सुरु भएर ४७ वर्षपछि संवत् ३२७४ मा यस मन्दिरको निर्माण सम्पन्न भएको ऐतिहासिक अभिलेख छ । वि.सं. १९९० को महाभूकम्पमा क्षति पुगेपछि यसको जीर्णोद्धार गरिएको थियो । त्यस्तै, वि.सं. २०७२ को भूकम्पले पुनः नराम्ररी क्षति पुर्याएपछि मन्दिरको स्वरूपलाई पुरानै ढाँचामा पुनर्निर्माण गरिएको हो ।
मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धारा भने हाल संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरी मन्दिरको ठीक अगाडि तलेजु भवानीको मन्दिरसमेत रहेको छ ।
जयवागेश्वरी क्षेत्रलाई काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो राजधानी र पहिलो बस्ती मानिन्छ । स्थानीयवासी सन्देश मुनिकारका अनुसार, ‘गोल’ भनेर चिनिने जयवागेश्वरी उपत्यकाकै पहिलो व्यवस्थित बस्ती हो । यस बस्तीमा नौथरी जात, नौवटा पोखरी, नौ पाटी र नौवटा ढोकालगायतका ऐतिहासिक संरचनाहरू रहेको उहाँले बताउनुभयो ।
इतिहासकार तथा जानकारहरूका अनुसार, गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी क्षेत्रमै रहेको थियो । लिच्छविकालको सुरुवाती राजधानी पनि यहीँबाट चलेको र पछि मात्रै हाँडीगाउँमा सारिएको थियो । त्यसपछि मल्लकालमा आएर हाँडीगाउँबाट राजधानी हनुमानढोकामा सारिएको ऐतिहासिक तथ्य रहेको छ ।