विश्व मातृ पृथ्वी दिवस आज : दिगो भविष्य र पारिस्थितिक प्रणाली संरक्षणमा जोड

काठमाडौं, ९ बैशाख । दिगो भविष्य र पृथ्वीको संरक्षणका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज नेपालसहित विश्वभर विविध कार्यक्रमका साथ ‘विश्व मातृ पृथ्वी दिवस’ मनाइँदैछ ।

बढ्दो वातावरणीय असन्तुलन र जलवायु सङ्कटप्रति विश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००९ देखि प्रत्येक वर्ष अप्रिल २२ तारिखका दिन यो दिवस मनाउन सुरु गरिएको हो । यस वर्षको दिवसले पृथ्वीको संरक्षण र बिग्रिँदै गएको वातावरणीय सन्तुलन कायम राख्न तत्काल सामूहिक कदम चाल्नुपर्ने सन्देश दिएको छ ।

मानवीय गतिविधि र प्रकृतिको दोहनका कारण पृथ्वी हाल गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । महासागरहरू प्लास्टिकजन्य फोहरले भरिँदै गएका छन् र तीव्र रूपमा अम्लीय (एसिडिक) बन्दै गइरहेका छन् । विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ), डढेलो, खडेरी र बाढीपहिरोजस्ता चरम मौसमी घटनाले लाखौँ मानिस प्रभावित बनिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार, विश्वभर हरेक वर्ष करिब एक करोड हेक्टर वन क्षेत्र नष्ट भइरहेको छ । वन विनाश, भू–उपयोगमा आएको परिवर्तन, अत्यधिक कृषि तथा पशुपालन र अवैध वन्यजन्तु व्यापारजस्ता गतिविधिले जैविक विविधतामा गम्भीर असर पार्दै पृथ्वीको विनाशलाई तीव्र बनाइरहेका छन् । हाल करिब १० लाख वनस्पति तथा जनावरका प्रजातिहरू लोप हुने उच्च जोखिममा रहेको अनुमान गरिएको छ ।

वातावरणविद्हरूका अनुसार स्वस्थ पारिस्थितिक प्रणाली (इकोसिस्टम) ले मानिसलाई विभिन्न प्राणघातक रोगबाट जोगाउन सहयोग गर्छ । जैविक विविधता कायम रहेमा रोग उत्पन्न गर्ने सूक्ष्म जीव र भाइरसहरूको तीव्र फैलावट नियन्त्रण गर्न सकिन्छ ।

यस्तो सङ्कटपूर्ण अवस्थामा सुधार ल्याउन पारिस्थितिक प्रणालीको पुनःस्थापना अत्यावश्यक रहेको विज्ञहरूले औँल्याएका छन् । पारिस्थितिक प्रणाली नै पृथ्वीका सबै जीवको मुख्य आधार भएकाले यसको संरक्षणले मात्र पृथ्वी र मानव जीवनलाई स्वस्थ बनाउन सक्छ ।

बिग्रिएको इकोसिस्टमलाई समयमै पुनःस्थापना गर्न सकेमा गरिबी न्यूनीकरण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र जीवजन्तु तथा प्रजातिको सामूहिक विनाश रोक्न ठूलो सहयोग पुग्ने राष्ट्रसङ्घले विश्वास व्यक्त गरेको छ ।