कर्णाली नदी कटानको समस्या समाधान गर्न टीकापुरबासीको माग : तीनै तहका जनप्रतिनिधिद्वारा स्थलगत अनुगमन
काठमाडौँ, वैशाख १० । कैलालीको टीकापुर क्षेत्रमा बर्सेनि हुँदै आएको कर्णाली नदी कटानको समस्या समाधानका लागि स्थानीयबासीले सङ्घीय सांसदसँग माग गरेका छन्। टीकापुर नगरपालिकामा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको संयुक्त छलफलमा सहभागीहरूले नदी कटानलाई प्रमुख समस्याका रूपमा औंल्याउँदै यसको दीर्घकालीन समाधान खोज्न आग्रह गरेका हुन् ।
नदीले टीकापुर पार्कको माथिल्लो क्षेत्र र सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा तीव्र रूपमा कटान गरिरहेकाले तत्काल नियन्त्रणका उपाय नअपनाए तल्लो तटीय क्षेत्र ठूलो जोखिममा पर्ने चेतावनी स्थानीयले दिएका छन्। छलफल पश्चात् जनप्रतिनिधिहरूले कटान प्रभावित क्षेत्रको स्थलगत अनुगमन समेत गरेका थिए।
छलफलका क्रममा टीकापुर–५ का स्थानीय अनन्त खड्काले वर्षौंदेखि रानी जमरा कुलरिया सिँचाइ आयोजना र विभिन्न सरकारी निकाय धाउँदा पनि समस्या समाधान नभएको गुनासो गर्नुभयो। उहाँले सिञ्चित क्षेत्र बचाउका नाममा गरिने टुक्रे कामभन्दा पनि तटबन्धका लागि छुट्टै र पर्याप्त बजेट सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो।
यस्तै, टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले नदीजन्य पदार्थ उत्खननमा विद्यमान कानुनी जटिलता र नदीको धार परिवर्तनका कारण जोखिम बढेको बताउनुभयो। उहाँले सङ्घीय सांसदलाई नदी नियन्त्रण, भूमिहीन समस्या समाधान र टीकापुर उद्यानको विकासलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।
कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले स्थानीय तहसँग पर्याप्त स्रोत नभएकाले प्रदेश र सङ्घीय सरकारले नदी नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले नागरिकलाई बाढी र डुबानको त्रासबाट मुक्त गराउन तिनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।
रानीजमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुख प्रेमराज घिमिरेले इन्धनको मूल्यवृद्धिका कारण निर्माण व्यवसायीले काम रोक्दा केही स्थानमा तटबन्धको काम प्रभावित भएको जानकारी दिनुभयो। हाल आयोजनाले पार्कको पछाडि र सनकट्टी क्षेत्रमा ‘बिग बोल्डर’ राखेर तटबन्ध गरिरहेको भए पनि सामुदायिक वन क्षेत्रमा कटान रोक्न बजेट अभाव रहेको उहाँको भनाइ थियो ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले नदी नियन्त्रणको मुख्य जिम्मेवारी सङ्घीय सरकारको भएको र प्रदेशले अन्य क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले नदी कटानको समस्यालाई आफूले गम्भीर रूपमा लिएको र यसबारे संसद् तथा प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइसकेको बताउनुभयो। उहाँले बर्खा नजिकिएकाले तत्काल गर्न सकिने पूर्वतयारीमा जुट्न आग्रह गर्दै दीर्घकालीन समाधानका लागि केन्द्रबाट बजेट सुनिश्चित गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।