गुजरातमाथि बैंगलोरको ९२ रनको सानदार जित, लगातार दोस्रो पटक आईपीएलको फाइनलमा
काठमाडौं, १३ जेष्ठ । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मङ्गलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो पटक फाइनलको यात्रा तय गरेको हो।
आरसिबीले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमै अलआउट भयो। गुजरातका लागि राहुल तेवतियाले ४३ बलमा ८ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ६८ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्।
धराशयी बन्यो गुजरातको ब्याटिङ
विशाल लक्ष्य पछ्याउने क्रममा गुजरातको सुरुआत निकै खराब रह्यो। टोलीले पावरप्लेभित्रै ५ विकेट गुमाएर संकटमा परेको थियो। ओपनर साई सुदर्शन १४ रनमा ‘हिट विकेट’ आउट भए भने कप्तान शुभमन गिल मात्र २ रनमा पभेलियन फर्किए। जोस बटलरले २९ रन जोडे पनि ठूलो इनिङ्स खेल्न सकेनन्।
गुजरातका आठ ब्याटरले दोहोरो अंक समेत छुन सकेनन्। नवौँ विकेटका लागि राहुल तेवतिया र मोहम्मद सिराजबीच ६८ रनको साझेदारी भए पनि त्यसले हारको अन्तर घटाउने बाहेक अन्य योगदान पुर्याउन सकेन।
बैंगलोरका लागि ज्याकब डफीले ३ विकेट लिए भने भुवनेश्वर कुमार, रासिख सलाम डार र क्रुणाल पाण्ड्याले २–२ विकेट चट्काए।
पाटीदारको विस्फोटक ब्याटिङ र विशाल योगफल
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ५ विकेट गुमाएर २५४ रनको विशाल स्कोर खडा गरेको थियो। आरसिबीको इनिङ्समा कप्तान रजत पाटीदार नायक बने। उनले पाएको दुई पटकको जीवनदानको भरपुर फाइदा उठाउँदै आक्रामक अर्धशतक प्रहार गरे।
ओपनर विराट कोहलीले ४३ र देवदत्त पडिक्कलले ३० रनको योगदान दिए। मध्यक्रममा क्रुणाल पाण्ड्याले २८ बलमा ४३ रन जोड्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। आरसिबीले अन्तिम ६ ओभरमा मात्रै ११४ रन जोडेको थियो, जुन आईपीएल प्लेअफ इतिहासकै विष्फोटक प्रदर्शनमध्ये एक हो।
गुजरातका लागि कागिसो रबाडा र जेसन होल्डरले २–२ विकेट लिए।
पाँचौँ पटक फाइनलमा आरसिबी
यो जितसँगै आरसिबी कुल पाँचौँ पटक आईपीएलको फाइनलमा पुग्न सफल भएको छ। यसअघि टोलीले सन् २००९, २०११, २०१६ र २०२५ मा फाइनल खेलेको थियो। गत सिजन पञ्जाब किङ्सलाई हराएर उपाधि जितेको बैंगलोर यस पटक उपाधि रक्षा गर्ने दाउमा छ।
गुजरातलाई अझै एक अवसर
हारका बाबजुद गुजरातको फाइनल पुग्ने सम्भावना अझै समाप्त भएको छैन। अब गुजरातले बुधबार हुने हैदराबाद र राजस्थानबीचको इलिमिनेटर खेलको विजेतासँग शुक्रबार ‘क्वालिफायर–२’ मा प्रतिस्पर्धा गर्नेछ। उक्त खेल जितेमा गुजरातले पुनः फाइनलमा आरसिबीसँगको भेट पक्का गर्नेछ।