बेनी–जोमसोम सडकखण्डको सिरुवारीमा पहिरोले यातायात पूर्ण रूपमा ठप्प, यात्रु र पर्यटक अलपत्र
म्याग्दी, १३ जेठ । मुस्ताङलाई राष्ट्रिय राजमार्ग र उत्तरी नाका कोरलासँग जोड्ने ‘लाइफलाइन’ बेनी–जोमसोम सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित माथिल्लो बैसरी (सिरुवारी) मा खसेको पहिरोका कारण ७६ किलोमिटर लामो यस सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो।
सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङतर्फ जान लागेका र मुस्ताङबाट बेनीतर्फ फर्किँदै गरेका सयौँ सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्। बाटो थुनिएपछि स्थानीय बासिन्दाका साथै मुस्ताङ भ्रमणमा निस्किएका आन्तरिक तथा बाह्य पर्यटक र मुक्तिनाथ दर्शनका लागि हिँडेका तीर्थयात्रीहरू निकै मर्कामा परेका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक डिभिजन कार्यालय र बेनी–जोमसोम–कोरला सडक आयोजनासँगको समन्वयमा पहिरो पन्छाउने कार्य सुरु गरिएको छ। “अवरुद्ध सडक खुलाउन कार्यस्थलमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको छ,” उहाँले भन्नुभयो।
सिरुवारी क्षेत्र भौगोलिक रूपमा निकै कमजोर रहेकाले सामान्य वर्षा हुनेबित्तिकै माथिबाट पहिरो खस्ने समस्या वर्षौँदेखि दोहोरिँदै आएको छ। यो स्थान बेनी–जोमसोम सडकको नियमित र सुरक्षित यात्राका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा रहँदै आएको छ।