शान्ति वार्ताकै बीच अमेरिकाद्वारा इरानमाथि आक्रमण: युद्धविराम प्रयास जटिल मोडमा, यस्तो छ प्रस्तावित सम्झौताको मस्यौदा
तेहरान/वासिङ्टन, , १३ जेष्ठ । मध्यपूर्वमा युद्ध अन्त्यका लागि कतारमा घनिभूत कूटनीतिक प्रयास भइरहँदा अमेरिकाले इरानको भूमिमा आक्रमण गरेपछि शान्ति प्रक्रियामा नयाँ संशय उत्पन्न भएको छ। इरानको विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी हमलाले सात सातादेखि कायम अनौपचारिक युद्धविरामको गम्भीर उल्लंघन गरेको र यसले वार्तालाई थप जटिल बनाएको बताएको छ।
होर्मोजगानमा विस्फोट र दाबी–प्रतिदाबी
इरानी सञ्चारमाध्यमका अनुसार मंगलबार बिहानै दक्षिणी होर्मोजगान प्रान्तमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका थिए। इरानले यसलाई अमेरिकी नांगो हस्तक्षेप भनेको छ। यता, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले भने आफ्ना कारबाहीहरू ‘रक्षात्मक’ प्रकृतिको रहेको दाबी गरेको छ। होर्मोज जलमार्गमा व्यावसायिक जहाजहरूलाई अवरोध पुर्याउन बिछ्याइएका सामुद्रिक बम (माइन्स) र मिसाइल प्रक्षेपण स्थलहरूलाई निशाना बनाइएको अमेरिकी दाबी छ।
अमेरिकी हमलाको प्रतिकारमा इरानले तत्काल कुनै सैन्य सैन्य कदम नचाले पनि इरानी इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) ले आफ्नो सार्वभौमसत्ता रक्षाका लागि ‘उचित समयमा’ जवाफ दिने अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ।
लेबनानमा इसराइलको भीषण बमबारी
इरानमाथि अमेरिकी हमला भएकै दिन इसराइलले लेबनानमा आफ्नो सैन्य अभियानलाई थप तीव्र बनाएको छ। लेबनानी सुरक्षा स्रोतहरूका अनुसार मंगलबार एकै दिन १२० भन्दा बढी स्थानमा हवाई आक्रमण गरिएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कम्तीमा ३१ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ। इरानले लेबनानमाथि भइरहेको यो बर्बरता नरोकिएसम्म कुनै पनि क्षेत्रीय सम्झौता सफल नहुने अडान दोहोर्याएको छ।
के छ प्रस्तावित ६० दिने सम्झौताको मस्यौदामा?
अमेरिकी समाचार पोर्टल ‘एक्सियस’ ले सार्वजनिक गरेको विवरण अनुसार, अमेरिका र इरानबीच एक प्रारम्भिक समझदारी पत्र (MoU) तयार भएको छ। यसका मुख्य बुँदाहरू यस प्रकार छन्:
१. ६० दिने परीक्षण काल: दुवै पक्ष ६० दिनका लागि युद्धविराम र समझदारी कार्यान्वयन गर्न सहमत हुनेछन्। यो अवधि आपसी सहमतिमा थप्न सकिनेछ।
२. होर्मोज जलमार्गको स्वतन्त्रता: इरानले स्ट्रेट अफ हर्मुजमा बिछ्याइएका सबै सामुद्रिक बमहरू हटाउनुपर्नेछ र जहाजहरूलाई बिना कुनै अवरोध र शुल्क आवतजावत गर्न दिनुपर्नेछ।
३. प्रतिबन्धमा छुट र तेल बिक्री: इरानले बम हटाएर मार्ग प्रशस्त गरेलगत्तै अमेरिकाले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी हटाउनेछ र इरानलाई अन्तर्राष्ट्रिय बजारमा स्वतन्त्र रूपमा तेल बिक्री गर्न अनुमति दिनेछ।
४. रोक्का सम्पत्ति फुकुवा: इरानले विभिन्न मुलुकमा रोक्का रहेको आफ्नो करिब २४ अर्ब अमेरिकी डलर फुकुवा हुनुपर्ने अडान राखेको छ। अमेरिकाले ‘कार्य सम्पादनका आधारमा’ (Performance-based) बिस्तारै यो रकम छोड्ने संकेत दिएको छ।
५. आणविक कार्यक्रममा नियन्त्रण: इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने र उच्च स्तरको युरेनियम प्रशोधन रोक्ने मौखिक प्रतिबद्धता जनाएको छ।
ट्रम्पको रणनीति र नेतान्याहूको असन्तुष्टि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। यद्यपि, इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा हिजबुल्लाहसँगको युद्ध अन्त्य गर्ने सर्तप्रति असन्तुष्टि जनाएको बुझिएको छ। ट्रम्पले नेतान्याहूलाई मनाउने कोसिस गरिरहेको र हिजबुल्लाहले पुनः आक्रमण गरेमा इसराइलले सैन्य कदम चाल्न पाउने अधिकार सुरक्षित रहने आश्वासन दिएको स्रोतहरूको दाबी छ।
नवनियुक्त अमेरिकी विदेशमन्त्री मार्को रूबिओले भने अझै केही दिन वार्ता जारी रहने र दीर्घकालीन समाधानका लागि हर्मुज जलमार्गको सुरक्षा र आणविक अडिट मुख्य सर्त हुने प्रस्ट पारेका छन्।
हाल कतारमा भइरहेको यो ‘अप्रत्यक्ष वार्ता’ लाई इरानी समाचार संस्था आईएसएनएले सकारात्मक भनेको छ। यदि यो सम्झौता कार्यान्वयनमा आएमा यसले विश्वव्यापी तेलको मूल्य घटाउन र मध्यपूर्वमा दशकौँदेखिको तनाव कम गर्न ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।