सङ्घीय सरकारको समयतालिका अगावै नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
काठमाडौँ, वैशाख १० । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का अधिकांश स्थानीय तहले सङ्घीय सरकारले तोकेको समय तालिकाभन्दा अगावै नयाँ शैक्षिक सत्रको नियमित पठनपाठन सुरु गरेका छन्। सङ्घीय सरकारले वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन गरी २१ गतेदेखि मात्र कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि यहाँका स्थानीय तहले शैक्षिक क्यालेन्डर प्रभावित हुने भन्दै विद्यालय सञ्चालनमा ल्याएका हुन् ।
जिल्लाको मध्यविन्दु नगरपालिकाले वैशाख ७ गतेदेखि नै नियमित पठनपाठन सुरु गरिसकेको छ। नगरपालिकाका शिक्षा अधिकारी पदमराज आचार्यका अनुसार सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको अनुरोध र शैक्षिक सत्रको प्रभावकारिताका लागि नगर प्रमुखको सहजीकरणमा विद्यालय सञ्चालन गरिएको हो ।
यसैगरी, कावासोती र गैँडाकोट नगरपालिका तथा हुप्सेकोट गाउँपालिकाले पनि मङ्गलबार र बुधबारदेखि नियमित कक्षा सुरु गराएका छन्। कावासोतीका शिक्षा अधिकृत राजन पाण्डे र हुप्सेकोटका शिक्षा शाखा प्रमुख माधवराज गौतमले पालिकाभित्रका विद्यालयहरूमा नियमित शिक्षण सिकाइ क्रियाकलाप सुरु भइसकेको जानकारी दिनुभयो ।
पहाडी क्षेत्रमा रहेका बुलिङटार र बौदिकाली गाउँपालिकाले भने बिहीबारदेखि विद्यालय खोल्ने निर्णय गरेका छन्। बौदिकाली गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवलाल भुसालले अभिभावकहरूको विशेष आग्रह र कार्यपालिकाको निर्णयअनुसार सङ्घीय निर्देशनभन्दा केही अगाडि नै विद्यालय सञ्चालन गर्न लागिएको बताउनुभयो ।
यद्यपि, जिल्लाका दुई स्थानीय तह देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले भने सङ्घीय सरकारको निर्देशन पालना गर्दै वैशाख २१ गतेदेखि मात्र कक्षा सञ्चालन गर्ने अडान लिएका छन्। देवचुली नगरपालिकाका शिक्षा शाखा उपसचिव रामप्रसाद शर्माले कार्यपालिकामा यसबारे छलफल भए पनि सङ्घीय निर्देशन विपरीत नजाने सहमति भएको जानकारी दिनुभयो ।
संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरेसँगै पालिकाहरूले स्वायत्त रूपमा निर्णय लिएका हुन्। तर, एउटै जिल्लाभित्रका स्थानीय तहहरूमा विद्यालय खुल्ने मिति फरक-फरक हुँदा विद्यार्थी र अभिभावकहरूमा भने केही अन्योल देखिएको छ ।