१० कारोबार दिनपछि नेप्से २८०० बिन्दुभन्दा तल, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ, १० बैशाख । सेयर बजार मापक नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक १७.०१ अङ्कले घटेर २७८७.१५ बिन्दुमा झरेको छ।

योसँगै १० कारोबार दिनपछि नेप्से २८०० बिन्दुभन्दा तल ओर्लिएको हो। यसअघि गत चैत २४ गते मात्र नेप्से २८०० बिन्दुभन्दा तल बन्द भएको थियो। बिहीबार सेन्सेटिभ इन्डेक्स २.९४, फ्लोट इन्डेक्स १.३४ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१६ अङ्कले घटेका छन्।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि भारी गिरावट आएको छ। अघिल्लो दिन (बुधबार) ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार जम्मा ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयाँको मात्र सेयर किनबेच भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार कित्ता सेयर ९३ हजार ९०७ पटक खरिदबिक्री भएका हुन्।

समग्र बजार घटे पनि बिहीबार दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब साढे ९ प्रतिशतले बढेको छ।

अर्कोतर्फ, पछिल्ला केही दिनयता निरन्तर सकारात्मक सर्किट लागिरहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले भने आज सर्वाधिक गुमाएका छन्। यस कम्पनीको सेयर मूल्य ११.७९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा बिहीबार रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ३० करोड ४२ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यस्तै, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको २६–२६ करोड रुपैयाँ तथा होटल फरेस्ट इनको २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये बिहीबार दुईवटाको परिसूचक मात्र बढेको छ भने ११ वटा घटेका छन्। उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह सामान्य बढेका हुन्।

यता, होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले घटेको छ। त्यस्तै, वित्त, जलविद्युत् र निर्जीवन बिमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।