मुलुकभर २०औँ लोकतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौँ, वैशाख ११ । नेपाली राजनीतिक इतिहासको युगान्तकारी दिनको स्मरणमा आज देशभर २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले जनआन्दोलनको बलमा विघटित संसद् पुनस्र्थापना गरेको ऐतिहासिक उपलब्धिको खुसीयालीमा विसं २०६४ देखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।
विसं २०५९ जेठ ८ गते संसद् विघटन भएपछि सुरु भएको राजनीतिक अस्थिरता र द्वन्द्वका बीच तत्कालीन राजाले शासनसत्ता आफ्नो हातमा लिएका थिए । २०६१ माघ १९ को शाही कदमपछि नागरिक स्वतन्त्रता कुण्ठित भएको अवस्थामा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी) बीच भएको १२ बुँदे समझदारीले आन्दोलनलाई नयाँ दिशा दिएको थियो ।
नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको १९ दिने निर्णायक जनआन्दोलनमा लाखौँ नागरिक सडकमा उत्रिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुन बाध्य भएका थिए । वैशाख ११ गते राति भएको संसद् पुनस्र्थापनाको घोषणाले जनताको जीत सुनिश्चित गरेको थियो, जसलाई नेपाली राजनीतिमा गणतन्त्रको बलियो जग मानिन्छ ।
पुनस्र्थापित संसद्ले २०६३ जेठ ४ गते राजदरबारको सर्वाधिकार कटौती गर्दै ऐतिहासिक घोषणा जारी गरेको थियो, जसलाई ‘नेपाली म्याग्नाकार्टा’ को संज्ञा समेत दिइन्छ । सोही संसद्ले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधानसभाको निर्वाचन गर्ने सङ्कल्प पारित गरेको थियो ।
यसै ऐतिहासिक मोडको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो । २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रको विधिवत् अन्त्य गरी नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानले मुलुकमा सङ्घीय शासन प्रणाली संस्थागत गरेको छ । सोही संविधानबमोजिम हाल तीनै तहका सरकारहरू सञ्चालनमा रहेका छन् । नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूको संरक्षण र संवर्द्धन गर्ने प्रणका साथ आजको दिनलाई गौरवमय पर्वका रूपमा लिइने गरिन्छ ।