विकल्पविना बस्ती हटाउन लागेको भन्दै थापाथलीका सुकुम्बासी आन्दोलित
काठमाडौँ, ११ बैशाख । काठमाडौँका सुकुम्बासी बस्ती खाली गराउने सरकारको तयारीविरुद्ध सुकुम्बासीहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। विकल्प र पुनर्वासको व्यवस्था नगरी बल प्रयोग गरेर बस्तीमा डोजर चलाउन लागिएको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
प्रधानमन्त्री बालेन शाहले काठमाडौँका सुकुम्बासी बस्ती खाली गराउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषद् र सत्ता गठबन्धनमा छलफल नै नगरी प्रधानमन्त्रीको एकल निर्णयबाट शनिबार वा आइतबारभित्रै बस्ती खाली गराउने तयारी भइरहेको बताइएको छ।
उक्त निर्देशन कार्यान्वयनका लागि प्रहरी कार्यालयहरूमा सर्कुलर जारी भइसकेको र ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको बुझिएको छ।
सरकारको यो कदमको विरोधमा शुक्रबार बिहानैदेखि थापाथलीस्थित सुकुम्बासी बस्तीका बासिन्दाले प्रदर्शन सुरु गरेका छन्। उनीहरूले चुनावमा गरेका बाचाहरू स्मरण गराउँदै प्रदर्शनमा उत्रिएका हुन् ।
सुकुम्बासीको यस आन्दोलनमा ‘जेन–जी’ अभियानकर्मीहरूले पनि ऐक्यबद्धता जनाएका छन्।