सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूको साझा सहमति

काठमाडौँ, ११ वैशाख । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरू सार्क विकास प्रतिवेदनमा सहमत भएका छन्।

माल्दिभ्सको राजधानी मालेमा बिहीबार सम्पन्न सार्कको गरिबी निवारणसम्बन्धी अन्तरसरकारी विज्ञ समूहको दोस्रो बैठकमा सदस्य राष्ट्रहरूबीच उक्त सहमति जुटेको हो।

सार्क सचिवालयका अनुसार, माल्दिभ्सका वित्त तथा सार्वजनिक उद्यम राज्यमन्त्री हुसेन इमरान अब्दुल मुआइमिनले उक्त बैठकको उद्घाटन गरेका थिए। सो अवसरमा उनले सार्क राष्ट्रहरूबीच क्षेत्रीय सहकार्य विस्तार र आर्थिक वृद्धिमा जोड दिएका थिए।

माल्दिभ्सकै वित्त तथा सार्वजनिक उद्यम मन्त्रालयका उपमन्त्री अली रशीदको अध्यक्षतामा सम्पन्न बैठकमा सदस्य राष्ट्रका विकाससम्बन्धी मन्त्रालय तथा निकायका वरिष्ठ अधिकारीका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता थियो।

बैठकमा सार्क सचिवालयकी निर्देशक (सूचना तथा गरिबी निवारण) प्रथमा उप्रेतीले कार्यक्रम आयोजना गरेकामा माल्दिभ्स सरकारलाई धन्यवाद दिइन्। साथै, क्षेत्रीय सहकार्य प्रवर्द्धनमा निरन्तर सहयोग पुर्‍याएको भन्दै उनले एसियाली विकास बैंक (एडीबी) प्रति आभारसमेत व्यक्त गरेकी थिइन्।