वैशाखको १२ दिनमा देशभर ४२२ विपद्का घटना : २३ जनाको मृत्यु, ७३ घाइते

काठमाडौँ, वैशाख १३  । चालू वैशाख महिनाको सुरुवाती १२ दिनमा देशभर भएका विभिन्न ४२२ वटा विपद्का घटनामा परी २३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाख १ देखि १२ गतेसम्मको अवधिमा भएका यी घटनाहरूमा ७३ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा धेरै आगलागी र डढेलोका घटनाहरू भएका छन् । तथ्याङ्क अनुसार आगलागीका २१७ र वन डढेलोका ११४ वटा घटना दर्ता भएका छन् । यसैगरी, हुरीबतासका २९, सर्पदंशका २०, जनावरको आक्रमणका १६ र चट्याङका १४ वटा घटना भएका छन् ।

विपद्का अन्य घटनाहरूमा लेक लागेर तीन जनाको मृत्यु भएको छ भने डुङ्गा पल्टिएर एक, पहिरो, भारी वर्षा, बाढी र असिनाका दुई-दुईवटा घटना रेकर्ड गरिएका छन् ।

पछिल्लो २४ घण्टाको विवरण प्रस्तुत गर्दै प्राधिकरणले वैशाख ११ गते बिहानदेखि १२ गते बिहानसम्म मात्रै देशभर ३२ वटा विपद्का घटना भएको जनाएको छ । यी घटनाहरूबाट २७ जिल्ला प्रभावित भएका छन् । वैशाखको सुरुवातमै खडेरी र गर्मीका कारण आगलागी र डढेलोको जोखिम उच्च देखिएको भन्दै सम्बन्धित निकायहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।