विश्व बौद्धिक सम्पदा दिवस : नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड

काठमाडौँ, वैशाख १३ । नवप्रवर्तन र सिर्जनशीलताको संरक्षण गर्ने उद्देश्यका साथ आज विश्वभर ‘विश्व बौद्धिक सम्पदा दिवस’ मनाइँदैछ। नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइएको छ ।

प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यस दिवसले मानव विकासमा नवप्रवर्तन, प्रविधि र सिर्जनशीलताको भूमिकालाई उजागर गर्दै बौद्धिक सम्पदा अधिकारका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

इतिहास र सन्दर्भ
विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा सन् २००० देखि यो दिवस मनाउन सुरु गरिएको हो। संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत निकायका रूपमा रहेको यस संस्थाले विश्वव्यापी बौद्धिक सम्पदा नीति निर्माण, सेवा प्रवाह, सूचना आदान-प्रदान र अन्तर्राष्ट्रिय सहकार्यमा समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ। यसले सरकार, व्यवसायी र स्रष्टाहरूलाई सीमापार बौद्धिक सम्पदाको व्यवस्थापन र संरक्षणमा प्राविधिक सहयोग समेत प्रदान गर्दछ।

बौद्धिक सम्पदाका आधारहरू
सङ्गठनका अनुसार बौद्धिक सम्पदाभित्रका अधिकार

  • प्रतिलिपि अधिकार : कला, सङ्गीत र साहित्यको संरक्षणका लागि

  • पेटेन्ट : नयाँ आविष्कार र प्रविधिको सुरक्षाका लागि

  • ट्रेडमार्क : व्यावसायिक पहिचान र ब्रान्डको रक्षाका लागि

  • औद्योगिक डिजाइन: उत्पादनको बनावट र सजावटको संरक्षणका लागि

महत्त्व र लाभ
यो दिवसले विशेषगरी कला, सङ्गीत, साहित्य र प्रविधिको क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई आफ्नो सिर्जनाको स्वामित्व स्थापित गर्न र त्यसबाट आर्थिक लाभ लिन प्रोत्साहन गर्दछ। यसले स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्दै आर्थिक र सामाजिक विकासमा टेवा पुऱ्याउने विश्वास गरिन्छ ।

चुनौती र आवश्यकता
पछिल्लो समय डिजिटल युगको विकाससँगै बौद्धिक सम्पदाको संरक्षण चुनौतीपूर्ण बनेको विज्ञहरू बताउँछन् । अनधिकृत प्रयोग, नक्कली उत्पादनको बिगबिगी र ‘डिजिटल पाइरेसी’ (चोरी) नियन्त्रण गर्न प्रभावकारी कानुनी संयन्त्र र व्यापक जनचेतनाको खाँचो रहेको उनीहरूको तर्क छ ।

नेपालको सन्दर्भमा पनि बौद्धिक सम्पदासम्बन्धी विद्यमान ऐन, कानुन र नीतिहरूमा समयानुकूल सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । सरोकारवालाहरूले स्रष्टा र नवप्रवर्तकहरूलाई प्रोत्साहन गर्ने अनुकूल वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।